+
Search

ताजा अपडेट +

पपुलर +

रोङ गाउँपालिका- २ बदामटारको गल्लीमा थन्किएको प्रतिभा

राजेश आचार्य
२०८२ असार २, सोमबार ०३:०२ गते

२०८२ असार २, राजेश आचार्य । – खोजी प्रतिभाको

कहिलेकाहीँ सपनाहरू गुञ्जिन्छन् – उही गाउँका साँघुरा गल्लीहरूमा… जहाँ चिच्याएर भन्दा चुपचाप बाँचिनु ठूलो कुरा हुन्छ।

रोङ गाउँपालिका–२, बदामटार झापा सँगै टाँसिएको इलामको एक सानो डाँडामा, चुपचाप जिन्दगी बिताइरहेका छन् प्रेमकुमार नेपाल – एक असल कलाकार, जसको आवाज कहिल्यै एफएममा गुञ्जिएन।

सानैदेखि संगीतप्रति आकर्षण राखेका प्रेमकुमारले २०७२ सालमा आफ्नै सातवटा गीत समेटिएको एल्बम बजारमा ल्याए। यो काम उनले ठूलो लगानी, मिहिनेत र सपनासँग गरेका थिए। गीतहरू विभिन्न एफएम स्टेशनमा बजाउने प्रयास गरे, तर अफसोस, कसैले चासो देखाएनन्। एल्बम सार्वजनिक त भयो, तर प्रेमकुमारको आवाज कुनै रेडियो तरंगमा कहिल्यै गुञ्जिएन। कसैले सुनेनन् ती गीतहरू, कसैले चिनेनन् त्यो स्वरलाई।

यही उपेक्षा र निराशाले उनलाई पछिसम्म च्यापिरह्यो। संगीतप्रतिको गहिरो प्रेम हुँदाहुँदै पनि अहिले उनी कृषि र पशुपालनमा लागेका छन्। तर संगीतप्रतिको मोह र गायनप्रतिको जोश भने अझै मरेको छैन। कहिलेकाहीँ उनी एक्लै बगैंचामा गीत गाउँछन्, आफ्नै स्वरसँग रमाउँछन्।

संगीत मात्रै होइन, चित्रकला पनि उनको अर्को परिचय हो। उनले बनाएका चित्रहरूले गाउँका मठमन्दिर, विद्यालय र घरका भित्ताहरू सजिएका छन्। तर दुर्भाग्य, उनका सीप र चाहनालाई न त सही प्लेटफर्म भेटियो, न सहयोगी हातहरू। रहर, सपना र कला छँदैमा पुगिन्छ भन्न सकिन्न – त्यसमा अवसर र प्रोत्साहनको हात पनि चाहिन्छ।

प्रेमकुमारजस्ता सयौं प्रतिभा देशका कुना–कन्दरामा थन्किएका छन्। उनीहरूको सपना अभाव, बेवास्ता र व्यवस्था विहीनताको पीडामा चकनाचुर भइरहेका छन्। राज्यले, समाजले, हामीले यस्ता आवाज सुन्न सकेका छैनौं, सुन्ने प्रयास पनि गरेका छैनौं।

प्रेमकुमारको कथा केवल उनको व्यक्तिगत संघर्ष मात्र होइन, यो हाम्रो समाजको मौनता र लाचारीको पनि दस्तावेज हो। समय छ – अब यस्ता प्रतिभालाई चिन्ने, बुझ्ने र उचाल्ने। उनीहरूलाई हामीले देखेनौं भने उनीहरू अँध्यारोमै हराइरहनेछन्।

हामी सधैं सोध्छौं – ‘देशमा प्रतिभा छैन?’

तर प्रश्न सायद उल्टो हुनुपर्छ – ‘के हामीले उनीहरूलाई कहिल्यै देख्यौं त?'”

 

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य