+
Search

ताजा अपडेट +

पपुलर +

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सार्वजनिक सुनुवाई, अधिकांश प्रश्न एशियन हाइवेसंग सम्वन्धित

मुनाल न्यूज डेक्स
२०८२ भाद्र ६, शुक्रबार १४:४२ गते

२०८२ भदौ ६, बुधबार

झापा, बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको सार्वजनिक सुनुवाइका सहभागीले निर्माणाधीन एसियन हाइवेका विषयमा प्रश्न उठाएका छन् । उनीहरुले बिर्तामोड र चारपानेमा बन्न लागेको ‘ओभरपास’ का विषयमा प्रश्न उठाएका हुन् ।

दुई खण्डमा विभाजन गरेर निर्माण भइरहेको सडकका विषयमा प्रश्न उठाउँदै जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ ले सडक आयोजनाले स्थानीयसंग समन्वय नगरी ओभरपास बनाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले दुवै तर्फ ड्याम उठाएर सडक निर्माण गरिएको खण्डमा वारीपारि आवत जावतमा समस्या हुने बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बिर्तामोडमा निर्माण गरिने सडकमा ओभर ब्रिज नभएको खण्डमा पार्किङ व्यवस्थापनमा समस्या हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सिटी र अटो रिक्साका लागि समेत छुट्टै व्यवस्थापनमा अहिले नै चासो देखाउने पर्ने धारणा राखे । बिर्तामोडमा मुक्ति चोकदेखि वरिपरि एक किलोमिटर पोल रहित विद्युत सेवा सुचारु गरिनु पर्ने र सबै तारलाई अन्डरग्राउण्ड गर्दै सहरी शौन्दर्यकरणमा समेत चासो देखाउन नगरपालिकासंग आग्रह गरे ।

सडक निर्माणका क्रममा बिर्तामोड र चारपानेमा पानीको निकासको व्यवस्थापन प्रमुख रहेको भन्दै स्थानीय राजु ओलीले सहज रुपमा उत्तरबाट दक्षिण बग्ने पानीको निकास निकाल्नु पर्ने धारणा राखे । त्यस्तै वजार क्षेत्रमा सर्वजनिक शौचालय र खाने पानीको समेत उचित प्रवन्ध मिलाउन माग गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले निर्माणाधीन एसियन हाइवेका विषयमा चासो देखाएका थिए । उनले लागू औषध नियन्त्रणका क्षेत्रमा समेत प्रभावकारी कदम चाल्न सुझाव दिए ।

अलौची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बिर्तामोडमा भौतिक संरचना बन्दा अनिवार्य पार्किङको व्यवस्थापन गर्नु पर्ने र निर्माणाधीन संरचनामा बनाइएका पार्किङ अन्य क्षेत्रमा प्रयोजन भइरहेकाले त्यसको अनुगमन गर्नुु पर्ने आवज उठाए ।

कार्यक्रममा बोल्दै महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाले बिर्तामोडमा घरेलु मदिराको खुलेआम बेचबिखन भइरहेको प्रति चिन्ता व्यक्त गर्दै नियमनकारी निकायले अनुगमन गर्नु पर्ने धारणा राखिन । उनले बिर्तामोडमा रहेका सुधार केन्द्रको समेत अनुगमन गर्न माग गरिन् । व्यवसायी सुरेश कुमार अग्रवाल भद्रपुरेले बिर्तामोडमा सार्वजनिक शौचालय र पिउने पानीको प्रवन्ध तत्काल गर्नु पर्ने धारणा राखे । उनले निर्माणाधीन एसियन हाइवेमा डाइर्भसन दुर्घटनाको मुख्य कारण बनेको भन्दै त्यसलाई व्यवस्थित गर्न सुझाव दिए ।

चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले बिर्तामोडमा पार्किङ अस्तव्यत रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले पार्किङ व्यवस्थित बनाउन आग्रह गरेका छन् । सिटी सफारी र अटोका लागि समेत निश्चित पार्किङ क्षेत्र छुट्याउनु पर्ने आवज उठाएका उनले अब बन्ने एसियन हाइवेमा त्यसको व्यवस्थापन गरिनु पर्ने माग राखे ।

औषधि व्यवसायी गौरीशंकर गुप्ता ‘टिङ्कु’ले सिटी र टेम्पोमा हुने ठगी रोक्न माग गरे । उनले भाडाको एकरुपता नहुँदा सर्वसाधारण दिनहुँ ठगिने र ट्राफिक व्यवस्थापन समेत अस्त व्यस्त हुने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए ।

राप्रपाकी नेतृ रञ्जु वरालले बिर्तामोड लागू औषध दुव्र्यसनीको हव बन्दै गएको र त्यसलाई नियन्त्रणमा प्रहरीले चासो देखाएपनि मुख्य नाइने पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाइन् ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बू, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाई ,एशियन हाइवे पूर्वी खण्डका प्रमुख सुनिल बाबु पन्त, नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख सञ्जीवकुमार साह लगायतले सहभागीले उठाएका जिज्ञासाको उत्तर दिएका थिए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , नागरिक समाजका अगुवा, व्यवसायी, जनसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd