+
Search

ताजा अपडेट +

पपुलर +

दमक माओवादीको एक लाख विरुवा रोप्ने अभियानमा प्रचण्डको साथ

मुनाल न्यूज डेक्स
२०८२ असार १, आईतवार ०३:०१ गते

१ असार २०८२, आइतबार
दमक ।
नेकपा माओवादी केन्द्र दमकले सुरु गरेको वृक्षारोपण अभियानमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ दिएका छन् । उनले शनिबार दमकमा वृक्षारोपण गरेर दमकका माओवादी नेता कार्यकर्तालाई उत्साहित बनाएका हुन् ।

अध्यक्ष दाहालले दमक–४ स्थित दाहाल प्रतिष्ठानमा पुगेर फलफूलका विरुवा रोपेका थिए । माओवादी दमकका अध्यक्ष रवि बस्नेतले दिएको विरुवा रोपेर उनले अभियानमा साथ दिँदै अभियानमा जोडिएका पार्टी कार्यकर्तालाई उत्साहित बनाउका हुन् । उनले माओवादी केन्द्रले गरेको वृक्षारोपण कार्यक्रम राम्रो भएको र यसलाई निरन्तरता दिन निर्देशन दिए ।

माओवादी केन्द्र दमकले गत वर्षदेखि दमक क्षेत्रमा एक लाख फलफूलका विरुवा रोप्ने अभियान सुरु गरेको छ । गत वर्ष र यो वर्ष गरेर माओवादीले ७१ हजार फलफूलका विरुवा रोप्नुका साथै स्थानीयलाई विरुवासमेत वितरण गरिसकेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

माओवादी केन्द्रले गत वर्ष विशेष अभियान नै चलाएर दमक क्षेत्रमा फलफूलका विरुवा रोप्ने तथा दमकबासीलाई विरुवा उपलब्ध गराउँदै आएको बस्नेतले बताए । उनका अनुसार यस वर्ष पनि १७ जेठदेखि फलफूलका विरुवा रोप्ने र वितरण गर्ने अभियानलाई निरन्तरता दिइएको हो । दमक क्षेत्रमा जामुन, अम्बा, कागती, आँप लिची, अनारलगायतका विरुवा रोपिएको छ । गत वर्ष रोपिएका विरुवा यस वर्षबाट फल दिन थालेको नगर इञ्चार्ज बेदु गौतमले जानकारी दिए ।

अध्यक्ष प्रचण्डले अभियानमा साथ दिएपछि वृक्षारोपण अभियानलाई अघि बढाउन थप हौसला मिलेको अभियान संयोजक समुन्द्रा लामाले बताइन् । यसलाई माओवादी केन्द्र दमकले निरन्तरता दिने उनको भनाइ छ । ‘पछिल्लो समय जलवायु परिवर्तनले पर्यावरणमा गम्भीर असर पारेको तसर्थ हामीले वृक्षरोपण अभियान सुरु गरेका हौँ । अध्यक्ष प्रचण्डले विरुवा रोपेर साथ दिएपछि झनै हौसला मिलेको छ,’उनले भनिन् ।

नेकपा माओवादी केन्द्र दमकका अध्यक्ष बस्नेतका अनुसार यस वर्ष २५ हजार विरुवा वितरण गरिने भनिए पनि यसपटक अध्यक्ष प्रचण्ड नै आएपछि ऊर्जा बढेकाले थप संख्या बढाइने उनले बताए । अभियान पुनः सुरु भएयता २१ हजार विरुवा रोपिएको उनले बताए । अभियानलाई निरन्तर सञ्चालन गरिने उनको भनाइ छ । यसमा सबै दल, संघसंस्थाले साथ दिए ‘ग्रीन दमक, क्लिन दमक’ बनाउन सहज हुने उनले बताए ।

‘उत्पादन दिने विरुवा रोप्दा परिणाम पनि आउँछ । तसर्थ, हामीले फलफूलका विरुवा वितरण गरेका हौँ,’ नगर अध्यक्ष बस्नेतले भने, ‘गत वर्षको विरुवाले उत्पादन दिन थालेपछि हामीलाई उत्साहित बनाएको छ । आउने वर्षमा पनि हामी विरुवा वितरणको अभियानलाई निरन्तरता दिँदै जान्छौँ । अध्यक्ष प्रचण्डले पनि अभियानमार्फत जनतासँग जोडिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd