पुस २० शनिबार
बिर्तामोड
सौर्य ऊर्जामा आधारित विद्युत् परियोजना सञ्चालन गरिरहेको झापा इनर्जी लिमिटेडले आइपिओ निष्कासनको तयारी गरेको छ ।
झापाको बिर्तामोडमा शुक्रबार आयोजित छैठौँ वार्षिक साधारण सभाकाे अवसरमा झापा इनर्जी लिमिटेडका अध्यक्ष एलपी साँवाले सर्वसाधारणका लागि आइपीओ निष्कासनको तयारी भइरहेको जनाएका हुन् ।
सानो लगानी ठूलो अवसर : राष्ट्र निर्माणमा भन्ने नारासहित झापा इनर्जी स्थापना भएको थियो । झापा इनर्जीले शिवशताक्षी नगरपालिका-४ सालमारामा १० मेगावाट क्षमताको सौर्य ऊर्जामा आधारित विद्युत् परियोजना सञ्चालन गरिरहेको छ ।
नेपालका ठूला मध्येकाे एक र कोशी प्रदेशको सबैभन्दा ठूलो सोलार प्रविधिको यो परियोजनाले गत वर्षको माघदेखि आफ्नो उत्पादन सुरु गरेको थियो ।
मङ्सिर मसान्तसम्म १ करोड २७ लाख ४ हजार ३११ युनिट विद्युत् उत्पादन भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताए ।
झापा इनर्जीले अहिलेसम्म ९ करोड सत्ताइस लाख ४१ हजार ४७० रुपैयाँका सौर्य ऊर्जा बिक्री गरेको छ । इनर्जीले २१ बिघा १३ कट्ठा जग्गा खरिद गरी आफ्नै संरचनामा सोलार प्यानल राखेको हो ।
सोलार प्रविधिबाट उत्पादित ऊर्जालाई नेपाल विद्युत प्राधिकरणको बोलोचाेक सब स्टेसनमा जोडिएको छ । सोलार प्यानल राखिएको क्षेत्रलाई थप आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने नीति पनि झापा इनर्जीले लिएको अध्यक्ष साँवाले बताए ।
छैठौँ वार्षिक साधारण सभाको अवसरमा झापा इनर्जीका सञ्चालक रामचन्द्र उप्रेती, कोशी प्रदेशका पूर्व कृषिमन्त्री झलक सिंह दर्लामी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कम्पनीका सचिव सरोज श्रेष्ठले कम्पनीको आयव्यय प्रस्तुत गरेको साधारण सभामा पाँचवटा सामान्य र तीनवटा विशेष प्रस्ताव पारित गरिएको छ ।
प्रतिक्रिया