पुस १५, सोमबार, २०८१
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद ओलीको निर्वाचन क्षेत्रबाट सयौँ मानिस नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरेका झापा निर्वाचन क्षेत्र नम्बर ५ का ७८९ जनालाई सोमबार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीमा स्वागत गरेका हुन् ।
माओवादी केन्द्र गौरीगञ्ज गाउँ सम्मेलन तथा खबरदारी सभाको अवसरमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल सद्भावना पार्टी, मधेसी जनाधिकार फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका क्षेत्रीय सदस्य कमलेशकुमार राजवंशीले भ्रष्टाचार विरुद्धको आन्दोलन र सुशासनका निमित्त माओवादी अध्यक्ष प्रचण्डलाई साथ दिन पार्टी प्रवेश गरेको बताए । जनमत पार्टीका केन्द्रिय सदस्य महेन्द्रकुमार राउतसमेत माओवादी केन्द्रमा प्रवेश गरे । नव प्रवेशीहरुलाई प्रचण्डले अविर र खदा लगाइदिएका थिए ।
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका झापा क्षेत्र नम्बर ५ का सांसद केपी ओली सबैभन्दा जाली, झेली र कपटी भएको बताएका छन् । एमाले अध्यक्ष ओलीको दिमागमा जालझेल भन्दा अरु कुरा नआउने समेत प्रचण्डले जिकीर गरे । कार्यक्रमका प्रमुख अतिथी प्रचण्डले भ्रष्टाचार विरुद्ध आफुले अभियान चलाएपछि त्यसबाट तर्सिएर एमाले र कांग्रेस मिलेको बताए ।
गिरीबन्धु टी स्टेटको फायल खोल्दै गएपछि त्यसको सुई बालकोट तिर र भुटानी शरणार्थी काण्डमा बेचन झा पक्राउ परेपछि त्यसको सुई देउवा निवासतर्फ फर्किएपछि रातारात आफुलाई हटाउन कांग्रेस र एमालेले अप्राकृतिक गठबन्धन गरेको प्रचण्डले बताए । ‘ठूला भ्रष्टाचारको फाइल अगाडी बढाएपछि त्यसको सुई बालकोट र अर्को (बुढानिलकण्ठ) तर्फ तेर्सिएपछि मैले सरकार छाड्नु पर्ने अवस्था सिर्जना गरियो । मुलुकका दुई ठूला दल मिल्ने कुरा अलोकतान्त्रिक हो,’ उनले भने,‘सरकार बिचौलिया र दलाल बचाउन र जनता र संविधानको विरुद्ध काम गर्दैछ ।’ उनले गिरीबन्धुको बद्मासीलाई पर्दाफास गरिछाड्ने अठोट लिए ।
लोडसेडिङ हटाउने कार्यमा भूमिका खेलेका कुलमान हटाउन सरकार लागि परेको बताउँदै अध्यक्ष प्रचण्डले जनताको साथका कारण हटाउन नसकेको र नसक्ने दाबी गरे ।
सरकारले पहिल्यै पार्टी छाडेको मान्छेको नाम जोडेर शेरा दरबारको जग्गाका बारेमा गलत प्रचार गरिरहेको बताए । उनले सो जग्गा सरकारको भए फिर्ता लिन आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने अन्यथा गलत प्रचार नगर्न चेतावनी दिए ।
उनले संविधान संसोधनको बिषयमा उठाएर एमाले–कांग्रेसले महिला, आदिवासी जनजातिको अधिकार कटौती गर्न खोजिरहेको बताए । संविधान संशोधन गर्ने नैतिक अधिकार माओवादी केन्द्रलाई मात्र भएको बताउँदै अध्यक्ष प्रचण्डले उनीहरुको हक अधिकार थप सशक्त बनाइने दृढता व्यक्त गरे । उनले मुलुकलाई सम्बृद्ध बनाउनु माओवादीको एकमात्र विकल्प भएको भन्दै समृद्ध मुलुक निर्माण गरेर मात्र मर्ने इच्छा भएको बताए ।
कनकाई र रतुवा पुलको बिषय संसदमा उठाउने लामो समयदेखि ठेक्का लागेरपनि निर्माण हुन नसकेको कनकाई र रतुवा पुलको बिषयमा आफुले चासो राखेको बताउँदै अध्यक्ष प्रचण्डले सो बिषयमा संसदमा आफुले कुरा उठाउने बताए । ‘आज आउँदै गर्दा २० बर्षदेखि निर्माण हुन नसकेको कनकाई पुलको अवलोकन गर्ने अवसर पाएँ,’ उनले भने,‘लामो समयदेखि पुल निर्माण सम्पन्न नहुँदा यहाँको जनताले पाएको दुःख मैले महशुस गरेको छु, यसको बिषयमा संसदमा कुरा उठाउँछु ।’ उनले उक्त दुई पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाए । उनले भने,‘कनकाई र रतुवा पुल निर्माणका लागि सक्दो पहल गर्छु, यो पुल निर्माण भइसक्दा भद्रपुरदेखि बिराटनगरसम्मको यात्रा अत्यन्तै सहज हुनेछ ।’ अध्यक्ष प्रचण्डले पुलको अवलोकन पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तत्काल पुल निर्माण प्रक्रिया अगाडी बढाउन आग्रह गरेको बताए ।
प्रतिक्रिया