६ मङ्सिर २०८१, राजेश आचार्य ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी )को ३२औं वार्षिक साधारण सभा २०८१ मंसिर २ देखि ८ गतेसम्म विभिन्न एकाइहरूमा उपएकाइगत रुपमा सम्पन्न हुन गइरहेको छ। जस अन्तर्गत बडाबारी उपएकाइगत साधारण सभा आज हल्दीबारी ४ स्थित पाथिभरा सामुदायिक भवनको सभाहलमा सम्पन्न भएको छ।
बडाबारी सेवाकेन्द्रगत उपसमिति संयोजक राम प्रसाद ढकालको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको थियो। बडाबारी सेवाकेन्द्र प्रमुख रोहित कुमार गणेशले सञ्चालन गर्नुभएको उक्त सभामा बडाबारी सेवाकेन्द्रगत उपसमिति सदस्य पवित्रा मेचेले स्वागत मन्तव्य राख्दै सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई स्वागत गर्नुभएको थियो। साधारण सभामा प्रहरी चौकी जलथलका हवलदार भेसराज राई, संस्थाको सञ्चालक समितिको वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, संस्थाको सञ्चालक समितिका सदस्य हरि प्रसाद आचार्य, संस्था अन्तर्गत भद्रपुर-केचना क्षेत्र को क्षेत्रीय प्रमुख हरिमाया ओझा, बडाबारी सेवाकेन्द्रगत उपसमिति सदस्य गुरु प्रसाद बिमली लगायत संस्थाका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सभामा आर्थिक वर्ष २०८०/८१ को उत्कृष्ट एकाइलाई सम्मान तथा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम समेत रहेको थियो। जस अन्तर्गत बडाबारी सेवाकेन्द्र एकाइ नम्बर २ लाई उक्त सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
२०५० साल फागुन २४ गते संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको नेतृत्वमा २६ जना संस्थापक सदस्यबाट स्थापना भएको सहकारीमा हाल १ लाख ७० हजार भन्दा बढी शेयर सदस्य रहेका छन् । झापा जिल्ला मात्र कार्यक्षेत्र भएको एनएमसीले मिति २०७७ साल फागुनदेखि छिमेकी जिल्ला मोरङ र इलामलाई पनि कार्यक्षेत्रको रूपमा स्वीकृति प्राप्त गरेसँगै हाल एनएमसीको झापा, मोरङ र इलाम गरी ३ वटा जिल्लामा कार्यक्षेत्र रहेको छ।
प्रतिक्रिया