डाँगिबारी,असोज १७ ।
चार महिना अघिदेखि बेपत्ता भएका झापा बाह्रदशी-५ का एक युवकलाई हत्या गरेर घरभित्र गाडेको आशंकामा प्रहरीले उत्खनन् शुरु गरेको छ ।
बाह्रदशी गाउँपालिका-५ फूलवारीका अन्दाजी २१ वर्षका राजेश ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । बाह्रदशी-६ कुमाईगाँउका नरेश राजवंशी र उनकी भाउजुले हत्या गरेर आफ्नो घरको बरान्डामा गाडेको आशंकामा प्रहरीले आज साँझदेखि उत्खनन् गरेको हो । तर अहिलेसम्म ठाकुरको शव फेला परिसकेको छैन ।
प्रहरीले नरेश राजवंशी र उनकी भाउजुलाई नियन्त्रणमा लिएको छ । नरेशका दाजु गणेश राजवंशी दुबईमा रहेका छन् । देवर र भाउजुले मिलेर ठाकुरको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । हराएका ठाकुरले लगाएको कपडा, नुनको बोरा र हतियार भेटिएको जनाइएको छ । घटनास्थललाई सिल गरी थप अनुसन्धान भोलि विहानबाट गरिने प्रहरीले जानकारी दिएको छ।
हत्या गरेर गाडेको स्वीकार गरिसकेका नरेश राजवंशीले देखाएको ठाउँमा खन्दा शव नभेटिएको फूलवारी प्रहरी चौकीका असई श्रवण चौधरीले बताए । उनले घरभित्र र घर बहिर पनि खन्ने काम भइरहेको जानकारी दिए ।
प्रतिक्रिया