+
Search

ताजा अपडेट +

पपुलर +

बेरुजु घटाउदै बाह्रदशी गाउँपालिका

निरौला कार्यकारी प्रमुख भएर आएपछि बेरुजु घटाउन सम्भव भएको उनले बताए

मुनाल न्यूज डेक्स
२०८१ असार ४, मंगलवार ०७:१९ गते

४ असार २०८१, मंगलबार
झापाको बाह्रदशी गाउँपालिकाले बेरुजु न्यून बनाउने अभियानलाई तीब्रता दिएको छ । एक बर्षमै पालिकाले ४४.७० प्रतिशत बेरुजु फर्स्यौट गरेको हो ।

आर्थिक बर्ष २०७८/७९ सम्म बाह्रदशीमा १५ करोड ५८ लाख ७७ हजार रुपैँया बेरुजु रहेकोमा चालु आवमा ६ करोड ९६ लाख ८५ हजार रुपैँया फर्स्यौट भएको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यो कुल बेरुजुको ४४.७० प्रतिशत हो ।

‘बाह्रदशीलाई न्यून बेरुजु भएको पालिका बनाउने अभियानलाई तीब्रता दिएका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले भने । निरौला पालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि बेरुजु फर्स्यौट गर्न ताकेता गरेको कर्मचारीहरु बताउँछन् ।

बेरुजु उल्लेख्य घटाउन पालिका अध्यक्षलगायत कर्मचारीहरुको सहयोगले सम्भव भएको निरौलाले बताए । ‘गाउँपालिका अध्यक्ष पालिकाको काम नियमसम्मत गर्नु पर्छ भन्नेमा हुनुहुन्छ,’ उनले भने,‘त्यहि भएर हामी कर्मचारीलाई पनि काम गर्न सजिलो छ ।’ सेवाग्राहीलाई बुझाउन समय लाग्ने तर नियमसम्मत काम गर्दा बेरुजु नहुने निरौला बताउँछन् । ‘शुरुमा सेवाग्राहीले नबुझ्दा कर्मचारी छुचो भए जस्तो लाग्छ,’ उनले भने,‘तर बेरुजु शुन्य हुँदा र सुशासन बुझेपछि सेवाग्राही आफैँ खुशी हुनुहुन्छ ।’

गत आवमा बाह्रदशीमा ९४ लाख ६५ हजार बाँकी बेरुजु देखिएको छ । यो बर्षदेखि बेरुजु कम गर्दै लगेर शुन्यमा झार्ने अभियान शुरु गरिएको अध्यक्ष देविन्द्र चम्लागाईले बताए । बेरुजु हुने नहुने वा के कति हुने भन्ने कार्यकारी प्रमुखलगायत कर्मचारीमा भर पर्ने अध्यक्ष चम्लागाईले बताए । निरौला कार्यकारी प्रमुख भएर आएपछि बेरुजु घटाउन सम्भव भएको उनले बताए ।

‘नयाँ कार्यकारी प्रमुख आउनु भएपछि उहाँले नै बेरुजु घटाउनु भएको हो,’ उनले भने, ‘प्रमाण पेश गराउने साथै असुल उपर गराउनेमा उहाँ लाग्नु भयो जसका कारण बेरुजु घट्यो ।’ ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकालाई समेत निरौलाले शुन्य बेरुजु बनाएर बाह्रदशी आएका थिए ।

बेरुजु फर्स्यौट गर्न सार्वजनिक लेखा समितिले समिति बनाएको र कार्यपालिकालाई निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

आर्थिक कार्यविधी तथा उत्तरदायित्व ऐन २०७६ को दफा ३८,३९ र ४० मा बेरुजु फर्स्यौट सम्बन्धि व्यवस्था गरिएको छ । लेखापरीक्षणमा औँल्याइएको बेरुजु नियमित गराउनु पर्ने वा प्रमाण पेश गर्नु पर्ने वा असुल उपर गरी फर्स्यौट गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd