२४ जेठ २०८१, बिहीबार
भारतको अयोध्यामा भारतीय जनता पार्टी (भाजपा)ले पराजय भोग्नुपरेको छ । गत २२ जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको तामझामका साथ उद्घाटन गरेका थिए । राम मन्दिरको स्थापनालाई मोदीले आफ्नो विरासत जोगाउँदै पार्टीलाई चुनावमा जिताउने जोड दिन खोजिएको घटनाका रूपमा हेरिएको थियो । तर, कार्यक्रम तामझामका साथ भएपनि चुनावमा भने भाजपाले मत पाउन सकेन ।
राम मन्दिरलाई नै चुनावी प्रचार बनाएको भाजपाले उत्तर प्रदेशको फैजावाद क्षेत्र (जहाँ अयोध्या पर्छ) मा हार बेहोर्नुपरेको छ । त्यसैले राम मन्दिर बनेको क्षेत्रमा पनि भाजपाले आफ्नो जित हासिल गर्न नसकेको टिप्पणी भारतीय रोयटर्स लगायत भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
भाजपाले उत्तर प्रदेशको उत्तरी राज्यमा नराम्रोसँग हार स्वीकार गर्नुपर्ने देखिएको पनि रोयटर्सले लेखेको छ । उत्तर प्रदेशमा समाजवादी पार्टी र कंग्रेस आईले ८० सिटमध्ये आधाभन्दा बढीमा अग्रता लिएको छ । यसैबीच भाजपाका नेता लल्लु सिंहले पार्टी कार्यकर्ताहरूसँग कुराकानी गरेको भिडिओ सार्वजनिक भएको छ ।
इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको उक्त भिडिओ फुटेजमा लल्लुले भनेका छन्, ‘मैले तपाईंहरूको र अयोध्याको मान जोगाउन सकिनँ । ममा नै केही कमजोरी हुनुपर्छ ।’ सन् २०१४ र २०१९ को निर्वाचनमा लल्लु सिंह फैजावाद क्षेत्रबाट विजयी भएका थिए ।
प्रतिक्रिया