+
Search

ताजा अपडेट +

पपुलर +

झापा गाउँपालिका लागुऔषध भित्राउने ट्रान्जिट पोइन्ट बन्दै

मुनाल न्यूज डेक्स
२०८० चैत्र २५, आईतवार ०६:११ गते

२५ चैत्र २०८०, आइतवार
पछिल्लो समय लागू औषध प्रयोगकर्ता र कारोबारीहरूले झापा गाउँपालिकासँग जोडिएको सीमा नाकालाई लागू औषध भित्राउने वैकल्पिक बाटोको रुपमा उपयोग गर्न थालेका छन् । काँकडभिट्टा र भद्रपुर नाकामा कडाइ गर्न थालेपछि झापा गाउँपालिकाको सीमा नाकालाई विकल्पको रुपमा प्रयोग गर्न थालेपछि सो नाका लागू औषधको ट्रान्जिट पोइन्ट बनेको हो । कारोबारीहरूले भारतबाट भित्र्याउन लागेको १३१ ग्रामभन्दा बढी ब्राउन सुगर एकै दिनमा त्यहाँका सुरक्षाकर्मीले बरामद गरेको छ । जसको नेपाली बजार मुल्य दुई ५० हजार बराबरको रहेको छ ।

शुक्रबार दिउँसो १ बजे सशस्त्र प्रहरीले झापा गाउँपालिकाको सितुमारी इलाकाबाट भारत किशनगञ्ज धनतोला ग्राम पञ्चायत बालुवाडीका २३ वर्षीय राहुल मण्डललाई पक्राउ गरेको थियो । उनको साथबाट ४८.५५० ग्राम ब्राउन सुगर बरामद भएको थियो ।

त्यस्तै शुक्रबार राति ८ बजेको समयमा झापा गाउँपालिका ४ लसुनास्थित सीमा क्षेत्रबाट ६३.५९ ग्राम ब्राउन सुगरसहित बरामद भएको थियो । ब्राउन सुगरसहित पक्राउ पर्नेमा झापा गाउँपालिका ७ का २५ वर्षीय सुनिराम हेमरम र सोही ठाउँका २१ वर्षीय हिरण राजवंशी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका डीएसपी तथा सूचना अधिकारी दिनेश कटुवालले जानकारी दिए ।

त्यसैगरी शुक्रबार दिउँसो ३ः४५ बजेको समयमा झापा गाउँपालिका १ स्थित लसुना नाकाबाट १९ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर नम्बर नभएको निलो कलरको टीभीएस मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक झापा गाउँपालिका १ बस्ने अन्दाजी १७ वर्षीय शिवकुमार मुर्मूले मोटरसाइकल छाडी भागेका थिए ।

उक्त मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखेको र शनिबार बिहान १०:१५ बजेको समयमा मुर्मू सोही स्थानमा हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले झापा गाउँपालिका १ लसुनास्थित मकैवारिमा लागू औषध लुकाई छिपाई राखेको भनेको आधारमा प्रहरी टोलीले उक्त स्थानमा खोजतलास प्लास्टिकबाहेक १९ ग्राम १७० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd