२६ फागुन २०८०, शनिवार
आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै चर्च ब्वाइज युनाइटेड झापा गोल्ड कपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ ।शनिबार बिर्तामोडस्थित डोमालाल राजवंशी खेलमैदानमा निर्धारित ९० र अतिरिक्त १४ मिनेटको खेलमा गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भएको थियो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज झापा गोल्ड कपमा पहिलोपटक सहभागी हुँदै फाइनलमा प्रवेश गर्न सफल भएको हो । झापा यसअघिका पाँचै संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट टाढा रहँदै आएको थियो ।

पेनाल्टी सुटआउटमा चर्च ब्वाइजको लागि सुरज जिउ ठकुरी, विजय भुजेल, अबयोमी अलुवासेउन फकुन्ले र गोलकिपर तथा कप्तान दीप कार्कीले निर्णायक गोल गर्दै टोलीलाई फाइलनमा पुर्याएका हुन् । चर्च ब्वाइजका सर्ज डिकाको प्रहार झापाको गोलकिपर सुदिप लिम्बूले बचाए ।

झापाको लागि आदित्य शाक्य, विवेक पौडेल, आशिष चापागाईंले गोल गरे भने प्रदीप बुढाथोकीको प्रहार पोस्टमा लागेर फर्कियो । विदेशी खेलाडी मार्क जुनियर ह्यारिसनको प्रहार गोलकिपर दीप कार्कीले बचाएका थिए ।

खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका गोलकिपर दीप कार्की बने । उनले मेडलसहित ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमबार हुने उपाधि भिडन्तमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय