बिर्तामोड । एक वर्षको विश्रामपछि झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ देखि हुने भएको छ । झापा गोल्डकप आयोजक समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर छैटौँ संस्करण नकआउट फुटबल प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता मानिएको झापा गोल्डकप बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा यो वर्ष पुरस्कार राशि बढाइएको उनले बताए । यो वर्ष गोल्डकप विजेता टिमले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछन् । पाँचौँ संस्करणमा विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पाएका थिए । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिने समितिका महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ७ र विदेशी ३ गरी १० वटा टिमको सहभागिता रहने छ । टिमको छिनोफानो भइसकेको छैन । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ अनुमानित खर्च हुने समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । २०७२ सालदेखि सुरु भएको झापा गोल्डकपको खातामा ९४ लाख रुपैयाँ भन्दा बढी बचत रहेको उनले बताए ।
गोल्डकपको उद्घाटन समारोहमा जिल्लाका एक जना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने छ । त्यस्तै रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने जनाइएको छ । पत्रकार सम्मेलनमा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले मामा, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, गोल्डकपका सल्लाहकार मदनगोपाल सुब्बालगायतको उपस्थिति रहेको थियो । अघिल्लो बर्ष मेची रंगशालामा भद्रपुर झापा गोल्डकप आयोजना गरिएकोले झापा गोल्डकप स्थिगित गरिएको थियो ।
प्रतिक्रिया