८ पौष २०७९, शुक्रवार
तुलसा रेग्मी
त्यो जमाना अनि पहाडी परिवेश जहाँ केटा र केटी बोले मात्रै पनि नानाथरी कुरा काटिन्थ्यो । अझ भनौं गाउँघरमा गफको प्रमुख पात्र बनिन्थ्यो । फलानो त फलानीसँग लागेको छ अरे अथवा फलानी फलानोसँग लागेकी छे अरे । यस्तै थिए त्यतिबेलाको त्यहाँको मानिसका सोचाइ अनि बुझाइहरु । धेरै वर्षपछि फर्किएर जाँदा बाटो र बिजुली बाहेक अरु खासै केही पनि परिवर्तन महसुुुस गर्न सकिँन मैले।

फरक यत्ति थियो घरभरी मान्छे हुने ठाउँमा सुनसान बस्ती थियो, केटाकेटीले भरिने आँगनमा सिरु र दुबोले भरिएका थिए । ती नांगा पहाड हिजो पनि नांगै थिए आज पनि नांगै छन्, र वर्षौंदेखी कुरिरहेछन् कर्मठ अनि पौरखी हातहरुलाई ।

यात्रारुपी जीवनमा कहिले कता पुगिन्छ त कहिले कता, कहिले चाहेर त कहिले नचाहेरै पनि । हामीलाई लाग्छ हामी कुनै स्थानमा घुम्न गयौं या समय बितायौं तर हामीलाई थाहा हुँदैन हामीले आफ्नो केही अंश त्यहीं छोडेर आयौं भन्ने । त्यसैले आफूले समय बिताएका ठाउँहरु हामीलाई प्यारा लाग्छन् । त्यसैले जहाँ–जहाँ, जे–जे मा आफ्नो अंश छोडिएको छ, ती सम्पूर्ण कुराहरुसँग हामी आत्मीय रुपले नजिकिन्छौं ।

पहिले बसेको या समय बिताएको ठाउँमा जानु भनेको विगतको आफूलाई महसुस गर्नु हो । त्यही भएर होला मलाई आज त्यही विगतको म को आभास भइरहेको छ । त्यतिबेला अहिलेको जस्तो यातायात तथा सन्चारको सुविधा थिएन । घण्टौं हिँडेर गन्तव्यमा पुग्नुपथ्र्यो । फोनको सुविधा नभएका कारण चिठ्ठी मार्फत् टाढा रहेका आफन्त तथा साथी भाइसँग हाल खबर र विचार आदान प्रदान गर्नुपथ्र्यो । अन्धविश्वास र कुरीति व्याप्त थियो । भूत प्रेत, धामी झाँक्रीमा पूर्ण रुपमा विश्वास गरिन्थ्यो ।

यसैक्रममा विगत समि्झँदा एउटा घटना मलाई अहिले पनि रमाइलो लाग्छ । घरबाट लगभग २० मिनेट हिँडेपछि एउटा खोल्सो आइपुग्थ्यो । वरपर बस्ती थिएन । त्यही भएर बाटोमा सितिमिति मान्छेहरु भेटिँदैन थिए । त्यसको केही मिटर पर जोरसल्ला सुसाउँदै उभिरहेका थिए । त्यहाँ भूत हुन्छ, तर्साउँछ भनेर गाउँका सबैले भन्थे । त्यही भएर त्यहाँ पुगेपछि म हत्तपत्त दौडिएर जोरसल्ला काट्थें एक्लै भएको बेलामा।

त्यस दिन धेरै पछि त्यो बाटोमा म एक्लै हिँडिरहेकी थिएँ । घरबाट निसि्कने बेलामै मलाई त्यो खोल्सो कसरी पार गर्नु भन्ने पिर परेको थियो तर मलाई डर लाग्छ भनेर कहिल्यै कसैलाई भनि्दँन थिएँ । सधैं त विकल्प पनि हुन्थेन किनकि गन्तव्यमा त जसरी नि पुग्नु नै पर्दथ्यो ।

केही समय हिँडेपछि खोल्साको नजिक पुगें । मन ढक्क फुल्यो, कतै तर्साउने पो हो कि, अथवा केही निसि्कहाल्ने पो हो कि भनेर । यताउती नहेरी दौडिँदै थिएँ, पछाडिबाट खोकेको आवाज आयो । अब भने मेरो सातो गयो । तर्साउँछ भन्थे, हो रैछ । एक्लै देखेर तर्साएरै छोड्यो।

अरुबेला जोरसल्लानिर पुगेपछि म बिस्तारै हिँड्थें तर त्यो दिन मेरा गोडा रोकिएनन् । स्याँ स्याँ हुँदै उकालो पार गरेर चौतारी पुगें । मुटु फुट्लाझैं भाको थियो डर अनि दौडाइले । एकछिन थकाइ मार्नु पर्यो सोचेर त्यही चौतारीको शितल ताप्दै केहीबेर बसें । अनि उठेर स्कूलतर्फ लागें।

यसो के हिँडेको थिएँ, पछाडिबाट फेरी खोकिको आवाज आयो । मन सिरिंग भयो। खोल्सादेखी यहाँँसम्म पछ्याउँदै आएछ राम राम । तर्साउने भूत त सुनेकी थिएँ तर यसरी पछ्याउने भूत नै त सुनेकी थिइँन । पछाडि मान्छेको पदचाप सुनियो तर पछाडि फर्केर हेर्ने हिम्मत अझै आको थिएन । कान्लातिर साइड लागेर बाटो छोडिदिएँ । बिस्तारै दायाँतर्फबाट खोक्दै उही चिम्सा आँखा अघि बढे।

अब पो आफूलाई मूर्ख लाग्यो। अघि त्यत्रो दौडेको भूत भनेर त उही चिम्सा आँखे पो रैछ । लाजले रातोपिरो भएँ । बेलुका घर फर्केपछि हाँसोको पात्र बनियो । सबैको प्रश्न उही थियो, “किन कुदेको कुद्यै स्कूल गाकी ?” डाँडा पारी रामेले भन्दै थियो, “हजुरहरुकै नानी हुन् जस्तो लागेर बोलाउन खोजेको, जति चाँडो हिँड्छु, कुदेको कुद्यै गर्छिन्, केही गरी भेट्टाउन सकिँन ।”

विशाखा नक्षत्र – तुलसा रेग्मी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय