२१ चैत्र २०७८, सोमवार
राप्रपाले आइतबार झापामा शक्ति प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजनीतिक राप्रपा नेताहरुको गृहजिल्ला झापामा आइतबार गरेको शक्ति प्रदर्शनमा हजारौँ मानिसको सहभागिता थियो ।
गत स्थानीय तह निर्वाचनमा विजय प्राप्त गरेको कचनकवलको बनियानीमा आइतबार राप्रपाले विशाल आमसभा गरेको हो । सो आमसभामा हजारौँ मानिस सहभागी भएर लिङ्देनको नेतृत्वलाई अनुमोदन गरेको राप्रपा नेताहरुले बताएका छन् ।
गत मंसिरमा पार्टीको सम्पन्न महाधिवेशनमा कमल थापालाई पराजित गरेर लिङ्देन अध्यक्षमा निर्वाचित भएका थिए । काँग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई चुनौतीका रुपमा देखिएका लिङ्देन आगामी निर्वाचनमा कमजोर उम्मेदवार होइनन् भन्ने देखिएको छ ।
आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी स्वरुप राप्रपासहित विभिन्न राजनीतिक दलहरुले राजनीतिक गतिविधि गरिरहेका छन् । नयाँ नेतृत्व पाएको राप्रपाका कार्यक्रममा मानिसको व्यापक सहभागिताले अन्य दललाई चुनौती थपिएको छ ।
अन्य दलको कार्यक्रममा भन्दा राप्रपाको कार्यक्रममा भएको नागरिकको उत्साहजनक सहभागिताले आउँदो प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले संसदमा आफ्नो उपस्थिति बलियो बनाउने देखिएको छ ।
मौजुदा प्रतिनिधिसभामा राप्रपाबाट लिङ्देनको मात्र सहभागिता छ । तर, अब लिङ्देनकै नेतृत्वमा राप्रपाले संसदमा दमदार उपस्थिति जनाउने राजनीतिक विश्लेषकहरुले बताउन थालेका छन् ।
प्रतिक्रिया