शनिबार, १९ चैत २०७८, राजेश आचार्य ।
ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि पेट्रोलियम पदार्थको विक्री वितरण प्रभावित भएको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै आयल निगम अमलेखगञ्जका ढुवानी व्यवसायीले शुक्रबारदेखि पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेका हुन् ।
पेट्रोलको ढुवानी ठप्प हुँदा तीनवटा प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् । निगमको अमलेखगञ्ज डिपोले भारतको बरौनीबाट दैनिक २५ देखि ४० ट्याङ्कर पेट्रोल आयात गर्दै आएको छ । सो पेट्रोलियम पदार्थ यहाँबाट विभिन्न जिल्ला ढुवानी हुने गर्छ ।
शुक्रबारदेखि भएको हडतालले उपभोक्ताहरू मारमा परेका छन् । नेपाल आयल निगमले तेल बिक्रेताहरूलाई कुल बिक्रीको ३ प्रतिशत रकम कमिसन बापत दिँदै आएको थियो ।
पछिल्लो समय लगातारको मूल्यवृद्धिका कारण निगमले पेट्रोलियम पदार्थमा दिँदै आएको कमिसन फागुन १९ गतेदेखि कटौती गरेको छ ।
कमिसन बापतको रकम कटौती गरेपछि राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार विज्ञप्ति जारी गरेर ढुवानी ठप्प पारेको हो ।
निगम अमलेखगञ्जका डिपो प्रमुख प्रदीप यादवले रुस–युक्रेन युद्धका कारण विश्व बजारका कच्चा तेलको मूल्य बढेकाले नेपाली उपभोक्तालाई मूल्यवृद्विबाट बचाउन डिलरलाई दिनुपर्ने कमिसन रोकिएको बताउनुभयो ।
प्रतिक्रिया