११ चैत्र २०७८, शुक्रवार
झापाको शिवसताक्षी नगरपालिका १ मा भएको सांघातिक हमलाका दोषीलाई कारबाही गर्न प्रहरीले हिम्मत गर्न सकेको छैन । सुरुमा जाहेरी लिन नमानेको प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी दिँदा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्न नसकेको पीडितहरूले गुनासो गरेका हुन् ।
गत फागुन २७ गते बिहान दिव्या बाँसकोटा , जानुका ढकाल , भेषराज ढकाल र तेजस्विनी बाँसकोटामाथि सांघातिक हमला भएको थियो । हमलाबाट दिव्या बाँसकोटा , जानुका ढकाल र भेषराज ढकाल अस्पताल भर्ना भएका थिए ।
बिर्तामोडको बिएण्डसी हस्पिटलमा २ लाख ६९ हजार रुपैयाँ उपचारमा खर्च भएको र अझै उपचार जारी रहेको परिवारले जनाएको छ । सांघातिक हमला भएपछि प्रहरीले हमला गर्नेहरूलाई पक्राउ गरेर लगे पनि सोही दिन रिहा गरेको थियो ।
त्यसपछि आफूहरूले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको र धेरै हारगुहारपछि मात्र हमला गर्ने युवराज खरेल , कुशल खरेल , अजय बाँसकोटा , कल्पना खरेल र चैतकुमारी खरेलमाथि ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी लिएको पीडित परिवारकी तेजस्विनी बाँसकोटाले बताइन् ।
‘ धेरै जनालाई हारगुहार गरेपछि र धेरैतिरको दबाबपछि बल्ल प्रहरीले फागुन २९ गते जाहेरी दर्ता गर्यो ’उनले भनिन् ,‘तर, जाहेरीउपर अझैसम्म कारबाही भएन ।’
राजनीतिक संरक्षणका कारण गाउँघरमै रहेका दोषीलाई प्रहरीले पक्राउ गर्न नसकेको उनले गुनासो गरिन् । आफूहरूलाई प्रहरी प्रशासनदेखि जनप्रतिनिधिहरूले समेत साथ नदिएको उनको गुनासो छ ।
बाटोको विषयमा विवाद भएको थियो । त्यही विवादका क्रममा तेजस्विनीको परिवारमाथि हमला भएको थियो । घटना भएको दिन पक्राउ पर्दा आरोपितहरूलाई वडाध्यक्ष सुवास राईले जमानीमा रिहा गराएका थिए । तर, उनले ती आरोपितहरूलाई प्रहरीको जिम्मा लगाएका छैनन् ।
‘आफूले दुई जनालाई जमानीमा रिहा गराएको स्वीकार गर्दै वडाध्यक्ष राईले आरोपितहरूलाई आफूले इलाका प्रहरी कार्यालय जान भनेको जानकारी दिए । उनले ती आरोपितहरुसंग आफ्नो सम्पर्क भइरहेको बताउँदै केही दिनभित्र प्रहरीकहाँ उपस्थित हुने जानकारी दिए ।
तर, प्रहरीले भने ती आरोपितहरू बेपत्ता रहेको बताउँदै आएको छ । ‘ हामी खोजी गरिरहेका छौँ ’इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण प्रधानले भने,‘ अनुसन्धान र कारबाहीको प्रक्रिया जारी छ ।’
गाउँघरमै रहेका आरोपितहरूलाई प्रहरीले पक्राउ नगरेको पीडित परिवारको गुनासो हो । ‘प्रहरीले टार्ने काम मात्र गरिरहेको छ , हामीले न्याय पाएनौँ कृपया सबैले सहयोग गर्नुहोला’ पीडित तेजस्विनीले भनिन् ।
प्रतिदिन दैनिकबाट
प्रतिक्रिया