२८ फागुन २०७८, शनिवार
घरेलु टोली झापा ११ फुटबल क्लब नेपाल आइस पाँचौं झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा शनिबार ए डिभजन टोली संकटा क्लबलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो । झापाका लागि दुवै गोल विमल घर्तीमगरले गरेका हुन् ।
झापा ११ ले फाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । सातदोबाटो युथ क्लबलाई ४–१ ले हराउँदै आर्मी फाइनल पुगेको थियो ।
दोस्रो सेमिफाइनलको १६ औं मिनेटमा विमलले गोल गरेका थिए । एन्द्रियस नियाको पासमा विमलले विपक्षी गोलकिपरलाई छलाउँँदै नजिकबाट गोल गरेका थिए । झापा ११ का लागि विमलले अर्को गोल ५७ औं मिनेटमा गरेका थिए ।
मैदानको दायाँबाट विकास मेराल्गियाले दिएको पासलाई पेनाल्टी बक्स भित्रबाट विमलले सहज गोल गरेका हुन् । प्रतियोगितामा विलमको गोलसंख्या ४ पुगेको छ । क्वार्टरफाइनलमा उनले पेनाल्टीमार्फ २ गोल गरेका थिए । पहिलो हाफमै संकटाले पनि पटक पटक गोल फर्काउने मौका पाए पनि सफल भने हुन सकेन ।
प्रतिक्रिया