२७ फागुन २०७८, शुक्रवार
त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।
खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो ।
६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्याए । ८० औँ मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए ।
८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।
प्रतिक्रिया