२५ फागुन २०७८, बुधवार
सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदबाट पारित भएपछि पार्टीको अस्तित्व मेटिनबाट जोगिएको बताएका छन् ।
बुधबार केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी पारित भएपछि पार्टीको अस्तित्व नै समाप्त हुनबाट जाेगिएकाे बताएका हुन् ।
यदि एमसीसी संसदबाट पास नभएकाे भए पार्टीकाे अस्तित्व नै सकिने पनि उनले बताए । उनले भनेका छन्, ‘हामीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्न सहमति जनायौँ ।
यदि हामीले त्यसो नगरेको भए नेपाली कांग्रेस र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो १४ जना सांसदलाई कारबाही गर्ने । कांग्रेस र एमाले मिलेर एमसीसी जस्ताको तस्तै अनुमोदन गर्ने थिए ।
यस्तो अवस्थामा हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पारिने, अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुन सक्थे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौँ ।’
प्रतिक्रिया