१९ फागुन २०७८, बिहिवार
झापाको गौरीगञ्जमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारी निवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार बेलुका करिब ४ बजे ती बालिका भैँसीका लागि पराल लिन गएका थिए । सोही बेला ती युवकद्धयले बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेका थिए । आरोपी युवकद्धय नेपाल भारत सीमा नजिक जबानमुन्सीमा महाशिवरात्रि पर्वको भोलि पल्ट बर्सेनि लाग्ने मेला घुम्न गएका थिए ।
बलात्कारको सिकार भएकी बालिका ५ महिना देखि आफन्त पर्ने दाजुको घरमा बस्दै आएकी थिइन् । बालिकाको स्थायी घर झापा गाउँपालिका हो । दाजुलाई घटनाको बारेमा जानकारी गराएपछि परिवारजनले तत्काल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा घटनाको बारेमा किटानी जाहेरी दिएका थिए ।
प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरी कार्यालय गौरीगञ्ज प्रहरी निरीक्षक राकेश रेग्मीको नेतृत्वमा खटिएका टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
यता प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाका अनुसार बालिकालाई बलात्कार गरेको आरोपी पक्राउ परेको हो । बिहीबार सार्वजनिक बिदा परेकोले घटनाको बारेमा झापा जिल्ला अदालतबाट शुक्रबार म्याद थप गरी मात्र विस्तृत जानकारी दिने उनले बताए ।
प्रतिक्रिया