१८ फागुन २०७८, बुधवार
रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ । नेपालमा पनि त्यसको असर देखिन थालेको छ । १५ दिनमा भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले मट्टितेलमा प्रतिलिटर २८ प्रतिशतसम्म मूल्यवृद्धि गरी नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ पठाएको छ।
यसअघि नै पेट्रोलियम पदार्थमा घाटा व्यहोरिरहेको निगमले पछिल्लो समय आइओसीले मूल्य बढाएर पठाएपछि नेपालमा पनि भाउ बढाउने देखिएको छ।
आइओसीबाट फागुन १७ मा प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा तीन रुपैयाँ ८९ पैसा, डिजेलमा तीन रुपैयाँ आठ पैसा, मट्टितेलमा १० रुपैयाँ ३० पैसा, हवाई इन्धनमा तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २० रुपैयाँ ५२ पैसा, डिजेलमा १६ रुपैयाँ ०८ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर छ सय ६५ रुपैयाँ ३४ पैसा घाटा छ।
त्यस्तै, मट्टितेलमा १४ रुपैयाँ ६९ पैसा, हवाई इन्धन(आन्तरिकतर्फ) १४ रुपैयाँ ४१ पैसा हवाई इन्धन (बाह्यतर्फ) ४८ रुपैयाँ ४४ पैसा नाफा छ।
प्रतिक्रिया