६ फागुन २०७८, शुक्रवार
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ ।
आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । १० दिनसम्म प्राविधिक परीक्षण उडान गरेपछि नेपाल वायु सेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । त्यसपछि व्यवसायिक उडानको तयारी सुरु हुने छ ।
सरकारले आगामी बुद्ध पूर्णिमा (२ जेठ) देखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सुरु गर्ने लक्ष्य राखेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्न चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली बिहीबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
उक्त टोली बिहीबार साँझ नै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको छ । टोलीले विमानस्थलमा जडान गरिएका प्राविधिक उपकरणको सही ढंगले काम गरे/नगरेको जाँच गर्ने छ ।
प्रतिक्रिया