+
Search

ताजा अपडेट +

पपुलर +

झापाका दुइ स्थानीय तहमा भोलि सार्वजनिक बिदा

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ३, मंगलवार १२:३२ गते

३ फागुन २०७८, मंगलवार
महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा कोरोना महामारीका कारण यसबर्ष नलाग्ने भएको छ । किचकबध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल संरक्षण समितिले फागुन १ गते सूचना प्रकाशन गर्दै कोरोना महामारीका कारण यसबर्ष पनि किचकबध मेला नलगाउने निर्णय गरेको हो ।

हरेक वर्ष माघ शुल्क पूर्णिमा÷स्वस्थानी व्रतका दिन स्वतःस्फूर्त रुपमा किचकवध मेला लाग्दै आएको छ । भोलि (बुधवार) फागुन ४ गते किचकवध मेला लाग्ने दिन परेको छ । सरकारले मेला, महोत्सव र समारोह जस्ता कार्यक्रममा अत्यधिक भिडभाड नगर्न निर्देशन जारी गरेकोले यस वर्ष किचकबध मेला नलगाउने निर्णय गरिएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए ।

भद्रपुर र कचनकवलमा स्थानीय बिदा

किचकवध धार्मिक मेलाको उपल्यक्षमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले बुधवार स्थानीय बिदा दिने निर्णय गरेको छ । अघिल्लो वर्ष बाह्दशी र हल्दिबारी गाउँपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको थियो ।

भद्रपुर नगरपालिकाकाले सूचना जारी गर्दै किचकबध मेलाका दिन स्थानीय बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । नगर कार्यपालिका अन्तरगत रहेका सबै निकाय र शैक्षिक संस्थामा बिदा दिइएको उनले बताए । त्यस्तै कचनकवल गाउँपालिकाले पनि भोलि स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

यता हल्दिबारी गाउँपालिकाले भोलि दिने स्थानीय बिदाको बारेमा केही निर्णय नगरिसकेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले जानकारी दिए । ‘किचकबध मेलामा अघिल्लो वर्षहरूमा बिदा दिइएको हो, यस वर्ष दिन वा नदिने विषयमा छलफल भइसकेको छैन,’ उनले भने ।

त्यस्तै अघिल्लो वर्षहरू स्थानीय बिदा दिँदै आएका बाह्रदशी गाउँपालिकाले पनि यस वर्ष स्थानीय बिदा दिने विषयमा निर्णय गरेको छैन । यस वर्ष बिदा दिने बारेमा गाउँपालिकाले निर्णय नगरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd