प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।
‘चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन,’ झपट रावलले भने ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । उनले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए ।
प्रतिक्रिया