२७ माघ २०७८, बिहिवार
नेपाल कम्युनिस्ट पार्टी झापाले एमसीसी सम्झौता र मूल्यवृद्धिको विरुद्ध विरोध प्रदर्शन गरेका छ । शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पटकपटक मूल्यवृद्धि गरेको र राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी र मूल्यवृद्धिको विरुद्ध प्रदर्शन गरेको हो ।
झापाको विर्तामोड स्थित इलाम स्टेसन बाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन मुक्ति चौक हुँदै पुनः इलाम स्टेसनमा आएर कोणसभामा परिणत भएको थियोे । विरोध सभाकाे सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले गरेका थिए भने नेपाल कम्युनिस्ट पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा प्रमुख वक्ता रहेका थिए ।
सभालाई बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, पार्टीका जिल्ला सदस्य जितु तामाङ लगायतले सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी सम्झौता अनुमाेदन नगर्न चेतावनी दिए । देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने दावी गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने उनिहरूले बताए ।
एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनता रक्षाका लागि भएको बताउदै जिल्ला सचिव थापाले कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घाेष गरेका थिए । विरोध सभामा बाेल्दै उनले सम्पूर्ण जनता एमसीसीकाे विरुद्धमा रहेकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे ।
प्रतिक्रिया