२४ माघ २०७८, सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जुनसुकै चुनौतीको सामना गरेर भएपनि एमसीसी पास गर्न नदिने अडानका साथ प्रस्तुत भएका छन् । प्रचण्डको अडानलाई सफल बनाउन सभामुख अग्निप्रसाद सापकोटा पनि सदनमा एमसीसी पेश भए टेबुल नगर्ने रणनीतिमा देखिएका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने अडानका साथ प्रस्तुत भएका छन् । यसले सभामुख सापकोटालाई हटाउने प्रस्ताव आउने निश्चितप्रायः भएको छ ।
सभामुखलाई हटाउने प्रस्तावको पक्षमा नेपाली काँग्रेस, नेकपा एमाले, जसपा र लोसपा देखिनसक्छ । तर, एमाले र जसपामा पनि मत विभाजित हुने सम्भावना छ । कतिपय सांसदहरुले राजनीतिक चाहना देखाएर बार्गेनिङ गर्ने सम्भावना पनि छ ।
सभामुखलाई हटाउन संवैधानिक व्यवस्था र प्रतिनिधिसभा नियमावलीलाई टेक्नुपर्छ । संविधान अनुसार सभामुखलाई हटाउन दुई तिहाई प्रतिनिधि सभा सदस्यको मत आवश्यक पर्छ । प्रतिनिधि सभा नियमावली अनुसार कुनै सांसदले एक चौथाई सांसदको समर्थनमा सभामुखलाई हटाउने प्रस्ताव ल्याउनसक्ने व्यवस्था छ । सभामुखले पद अनुकूल आचरण नगरेको भन्दै यस्तो प्रस्ताव आउन सक्छ ।
प्रतिनिधि सभा नियमावलीमा त्यस्तो प्रस्ताव प्राप्त भएपछि सचिवले सो प्रस्ताव सभामुखको विरुद्ध भए उपसभामुखसमक्ष, उपसभामुखको विरुद्ध भए सभामुखसमक्ष र सभामुख तथा उपसभामुख दुवैउपर एकसाथ प्राप्त भए अध्यक्षता गर्न मनोनित व्यक्ति मध्येको ज्येष्ठ सदस्यसमक्ष पेश गर्नेछ । त्यस्तो प्रस्ताव दर्ता भएको मितिले सात दिनभित्र बैठकमा छलफल हुनेगरी दिन र समय तोकिनेछ ।
सभामुख सापकोटाविरुद्ध प्रस्ताव पेश भएमा जेष्ठ सदस्य महेन्द्र राय यादवसमक्ष हुनेछ । उनी जसपाबाट मन्त्री समेत छन् ।
संसदको अंकगणित
संसदमा २६८ सदस्य रहेकोमा ३ जना निलम्बनमा परेकाले सभामुखसहित २६५ बहाल छन् । एक तिहाई सदस्य नेकपा एमालेको मात्र पुग्छ । एमालेबाहेकका दलले सभामुख हटाउन प्रस्ताव पेश गर्दा अन्य दलसँग मिल्नुपर्ने हुन्छ ।
प्रस्ताव पेश भएपछि पारित हुन दुई तिहाई मत हुनुपर्ने प्रावधान छ । तर, दुई तिहाई पुग्न सजिलो छैन । संसदको २६५ बहाल सांसदको दुई तिहाई पुग्न १७७ सांसद संख्या चाहिन्छ ।
नेकपा एमालेको ९७, नेपाली काँग्रेसको ६१, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक ४८, नेकपा एकीकृत समाजवादी पार्टीका २३, जनता समाजवादी पार्टीका १८, लोकतान्त्रिक समाजवादी पार्टीका १३, राजमो, नेमकिपा र राप्रपाका र स्वतन्त्र ११ सांसद छन् । सभामुखले पनि हटाउने प्रस्तावमा छलफल र मतदान गर्न पाउने व्यवस्था भएकाले २६५ बहाल सांसद मानिन्छ ।
एमाले र काँग्रेस मिल्दा १५८ सांसद संख्या हुन्छ । थप १९ सांसदका लागि जसपाको जोड्दा पनि १ सांसद अपुग हुन्छ । लोसपाको मात्र समर्थन मात्र प्राप्त भएमा ६ सांसद अपुग हुन्छ । अर्कोतर्फ, एमसीसीको विषयसँग जोडिएकाले एमाले र जसपाभित्र विद्रोह हुनसक्छ । एमालेबाट डा भीम रावललगायतका एमसीसी विरोधी नेताहरुले विद्रोह गर्न सक्छन् । रावलले एमसीसीविरुद्ध अभियान नै चलाएका छन् ।
जसपाभित्र पनि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर विभाजित हुनसक्छन् । लोसपाभित्र भने सभामुख हटाउने प्रस्तावमा एकमत हुनसक्छ । एमाले र जसपाको गरी १२ सांसदले मात्र विद्रोह गरेमा सभामुख हटाउने प्रस्ताव पारित हुनसक्छ । एमाले र जसपाको गरी १३ या त्योभन्दा बढी सांसदले विद्रोह गरेमा सभामुख हटाउने प्रस्ताव पारित हुनेछैन । यसले एमसीसी टेबुल हुने प्रक्रिया अड्कनसक्छ ।
संसदमा बहाल सांसद संख्या
नेकपा एमाले ९७
नेपाली काँग्रेस ६३ (२ निलम्बित)
नेकपा माओवादी केन्द्र ४८ (१ सभामुख)
नेकपा एस २३
जसपा १९ (१ निलम्बित)
लोसपा १३
राजमो १
नेमकिपा १
राप्रपा १
स्वतन्त्र १
प्रतिक्रिया