२२ माघ २०७८, शनिवार
पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।
केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार रु २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो । कारोबार तथा भुक्तनीमा एटिएम, वालेट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, क्यूआर कोडमा आधारीत भुक्तानी प्रणालीलगायत माध्यमको प्रयोग उल्लेख्य रुपमा बढेको छ ।
आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासर्वड तथा ओटिपी विभिन्न वहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यस बारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।
केन्द्रीय बैंकले शुक्रबार विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा सर्वसाधारणका लागि सूचना जारी गर्दै विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा आपराधिक व्यक्ति तथा समूहले विभिन्न प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासा बढ्न थालेकाले विद्युतीय भुक्तानीमा विशेष ध्यान दिन प्रयोगकर्तालाई अनुरोध गरेको छ ।
प्रतिक्रिया