१३ माघ २०७८, बिहिवार
झापाको अर्जुनधारा नगरपालिका १ का वडाध्यक्ष गजाधर खतिवडामाथि कुटपिट भएको छ । कुटपिट पछि वडाध्यक्ष खतिवडाले कुटपिटमा संलग्न सोही वडाका कांग्रेस सभापति उपेन्द्र बस्नेत र बस्नेतको घरका काम गर्दै बसेका होमनाथ अधिकारी विरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् ।
माघ ११ गते नेते खोलामा आफुमाथि कुटपिट भएको वडाध्यक्ष खतिवडाले इजलासलाई जानकारी दिए । खोलामा उत्खनन्का विषयमा विवाद हुँदा आफुमाथि नै हमला भएको उनको भनाई छ । नेते खोलाको लट्टेखर्क छेउमा वातावरणीय अध्ययन प्रतिवेदन अनुसार नै उत्खनन्को काम भएको वडाध्यक्ष खतिवडाले जानकारी दिए ।
खतिवडाले भने , ‘डेढ सय मिटरको ब्लक थियो । गाउँलेकै सहमतिमा खन्ने सल्लाह भयो । त्यसैले ठेक्कावालाले खने । ’ त्यसमा मेरो केहि दोष छैन, उनले थपे । त्यहि विषयलाई लिएर आफुमाथि कुटपिट भएको वडाध्यक्ष खतिवडाको भनाई छ ।
उत्खनन् कै क्रममा कांग्रेसका वडा सभापति बस्नेतसँग आएका अधिकारीले वडाध्यक्षको पेटमा लात्तीले हानेका थिए । सभापति कै अगाडि लात्ती हान्दा समेत कुनै रोकछेक नगरेको भन्दै कुटपिटको घटनामा सभापति कै योजना देखिएको उनको दावी छ ।
वडाध्यक्षको भर्खरै पित्त थैलीको शल्यक्रिया गरिएको थियो । सोही ठाउँमा लात्तीले हानेपछि वडाध्यक्ष खतिवडालाई समस्या भएको जानकारी दिएका छन् । उनले मेयर, उपमेयर र नेकपा एमाले अर्जुनधाराका अध्यक्ष बलदेव गोम्देनलाई जानकारी गराइसकेको बताए ।
यता, नेपाली कांग्रेस अर्जुनधारा–१ का सभापति बस्नेतले कुटपिटको घटनामा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएका छन् । आफुले केहि नगरेको बस्नेतको दावी छ । उनले वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्नुपर्ने बताए । कुटपिटमा संलग्न उनै बस्नेतको घरमा काम गरेर बस्ने व्यक्ति रहेको खुलेको छ ।
खोलामा अवैध उत्खनन्का कारण गाउँले नै आक्रोसित भएको बेला वडाध्यक्षमाथि कुटपिट भएको हुन सक्ने उनको भनाई छ । खोलामा उत्खनन् रोक्नुपर्छ भन्दै आफुहरु वर्षौदेखि आन्दोलित भएको बस्नेतको भनाई छ ।
सोही घटनालाई लिएर स्थानीय राजनीतिक दलहरुले दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया