+
Search

ताजा अपडेट +

पपुलर +

रासायनिक मल ल्याउँदा एक अर्ब भ्रष्टाचार

मुनाल न्यूज डेक्स
२०७८ पुष १९, सोमबार ०१:२२ गते

१९ पौष २०७८, सोमवार |
गत वर्ष रासायनिक मल आपूर्ति गर्दा एक अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदारविरुद्धसमेत गरी १२ जनाविरुद्ध आयोगले आइतबार अदालतमा मुद्दा दायर गरेको हो ।

गत वर्ष १९ हजार चार सय ३३ मेट्रिक टन डिएपी मल खरिद तथा आपूर्ति गर्दा सो परिमाणको रकमबराबर भ्रष्टाचार भएको आयोगको अभियोगपत्रमा उल्लेख छ । सम्झौता गरिएको स्पेसिफिकेसनमा तोकिएभन्दा न्यून गुणस्तरको रासायनिक मल आयात गरेर त्यसका आधारमा भुक्तानी दिइएको एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ रकमलाई बिगो कायम गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले यस प्रक्रियामा संलग्न संस्थान, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदार सबैविरुद्ध मुद्दा दायर गरेको छ । रासायनिक मल खरिद प्रकरणमा आयोगले करिब सात महिना लामो छानबिन गरेर आइतबार अदालतमा मुद्दा दायर गरेको हो । ठेकेदारले ल्याएको मल अहिले प्रयोग भएर पनि सकिएको छ ।

अख्तियारले कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्करदीप बुढासहित कृषि सामग्री कम्पनीका चारजनाविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

फरक गुणस्तरको मललाई स्पेसिफिकेसनमा तोेकिएबमोजिमकै मल भनेर गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भायर्मेन्टल एन्ड साइन्टिफिक सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, प्रयोगशाला निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा, प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी, उक्त संस्था र कृषि सामग्री कम्पनीबीच संस्थाका तर्फबाट सम्झौता गर्ने मनोज आचार्य र संस्था स्वयंविरुद्ध मुद्दा दायर गरिएको छ ।

कम्पनीको स्वीकृत स्पेसिफिकेसनको गुणस्तरभन्दा कम गुणस्तरको डिएपी मल आपूर्ति गर्ने आपूर्तिकर्ता जोशी बीज हाउस प्रालि र त्यसका कार्यकारी निर्देशक विनीत जोशीलाई पनि अभियुक्त बनाएर आयोगले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd