११ पौष २०७८, आइतवार ।
धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ।
बजार आज ७१.२० अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २५९१.४२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.३८ अंकले बढ्दै ४८२.७४ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ५ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे बीमा समूहमा चमक आउँदा आज बजार उकालो लागेको बताउँछन्। ‘बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि हकप्रद ल्याउन दिने खबरले पनि बीमा कम्पनीहरुको सेयरभाउमा उछाल आएको हो’, उनले भने।
घिमिरेले बीमा कम्पनीहरुले अझै केही दिन बजारको नेतृत्व गर्न सक्ने बताए। ‘बीमा कम्पनीहरुको सेयरभाउ निकै घटेको थियो, अब यिनै कम्पनीले बजारले बढाउन मद्दत गर्ने देखिन्छ’, उनले भने।
बजारमा सकारात्मक महौल बन्दै गएको घिमिरेको भनाइ छ। ‘अब बजार सामान्य करेक्सन हुँदै माथि नै जाने देखिन्छ’, उनले भने, ‘राम्रा र बलिया कम्पनीमा लगानीकर्ता फाइदै हुन्छ।’
प्रतिक्रिया