+
Search

ताजा अपडेट +

पपुलर +

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आज

मुनाल न्यूज डेक्स
२०७८ पुष ११, आईतवार ०१:१५ गते

११ पौष २०७८, आइतवार ।

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा उद्घाटन हुनेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो । महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक हितमान शाक्यका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । तर, राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गर्ने निर्णय भएकाले उद्घाटन समय भने केही ढिलो हुने उनले बताए ।अकस्मात् महाधिवेशनको निर्णय भएकाले विदेशी पाहुना सम्भव नभए पनि अन्य राजनीतिक दललाई भने आमन्त्रण गरिने नेता शाक्यले बताए ।

यस अघि राष्ट्रिय सम्मेलन भएका कारण विदेशी पाहुना र अन्य पार्टीबाट शुभकामनाका लागि नबोलाउने निर्णय माओवादी केन्द्रले गरेको थियो । ‘राष्ट्रिय सम्मेलन भनिएकोमा अब यसलाई आठौँ महाधिवेशनका रूपमा अघि बढाउने निर्णय भएको छ ।

सबै प्रक्रिया पूरा गरिसकेको, निर्वाचन ऐन र कानुनअनुसार महाधिवेशन पनि गर्नुपर्ने भएको हुँदा यसैलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको छ,’ संयोजक शाक्यले भने, ‘शनिबारको स्थायी कमिटीले यसलाई केन्द्रीय कमिटीमा लैजाने भनेको छ । आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले अन्तिम टुंगो लगाउनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd