१० पौष २०७८, शनिवार ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीन दिने कार्यक्रम सहभागी हुन आज गृह जिल्ला झापा आँउदै हुनुहुन्छ । एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार विराटनगर एयरपोर्ट हुँदै अध्यक्ष ओली आज ११ बजे मदन भण्डारी स्मृति प्रतिष्ठानको २०औं साधारणसभा उद्घाटन गर्न मोरङको उर्लाबारी पुग्नुहुनेछ ।
त्यसपछि जिल्ला पार्टी कार्यालयले झापा सिटी सेन्टरमा आयोजना गरेको सम्मान गर्ने कार्यक्रममा सहभागी विर्तामोड जानुहुनेछ । एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओली देखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ ।
विर्तामोड मै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो । आज अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा बास बस्नुहुनेछ ।
आइतबार बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन, साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै साढे १२ बजे दमक ४ मा अपांगहरुलाई ह्विल चेयर वितरण गर्नुहुनेछ ।
थापाका अनुसार साढे २ बजे शान्ति मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ । अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ ।
११ गते पनि अध्यक्ष ओली दमक मै बस्नुहुनेछ । सोमबार बिहान ९ बजे विभिन्न पार्टी त्यागेकाहरुलाई एमालेमा स्वागत गर्ने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । सोमबार नै साढे ११ बजे गौरादह पोखरी र कृषि क्याम्पसको निरीक्षण कार्यक्रम रहेको छ । दिउँसो साढे १२ बजे देहाती गाउँ जुरोपानीमा पार्टी प्रवेश कार्यक्रम र डोरामारी माविको भवन निर्माणाधिन भवन निरीक्षणको कार्यक्रम रहेको थापाले बताउनुभयो ।
दिउँसो २ बजे स्कूलचौन बजारमा पार्टीका विभिन्न कमिटीहरुले अध्यक्ष ओलीलाई बधाई तथा सम्मान ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन रणनीतिक र प्रादेशिक सडकको निरीक्षण गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया