+
Search

ताजा अपडेट +

पपुलर +

५४६ नेपाली श्रमिक खाडी र मलेसियाका जेलमा

दर्पण
२०७८ पुष ७, बुधबार ०४:४२ गते

झापा, पुस ७ ।
रोजगारीका लागि खाडी र मलेसिया पुग्ने नेपाली श्रमिक अनाहकमै जेल पर्ने गरेका छन् । निर्दोष हुँदाहुँदै पनि कानुनी लडाइँको ज्ञान नहुँदा र राज्यले समेत बेवास्ता गर्दा उनीहरू फस्ने गरेका छन् ।

साउदी अरबको दमाममा भारतीय नागरिकको घाँटी रेटेर हत्या गरेको आरोपमा जेल परेका पाँच नेपाली तीन वर्षपछि अदालतबाट निर्दोष साबित भएको घटना त्यसको ज्वलन्त उदाहरण हो ।

हत्या आरोपमा २०१८ डिसेम्बरमा इलामका धनबहादुर तामाङ, भक्तपुरका कृष्णप्रसाद गासी, महोत्तरीका इन्द्रजित मण्डल, धनुषाका रामप्रसाद ठाकुर र सिराहाका वासुदेव ठाकुर पक्राउ परेका थिए । सेन्ट्रल जेलमा तीन वर्ष थुनिएपछि गत जेठमा दमाम अदालतले उनीहरू निर्दोष रहेको फैसला सुनाएको थियो । भारतीय नागरिक आफैँले चक्कु घोपेर आत्महत्या गरेको अदालतको फैसला छ ।

तर, अदालतबाट निर्दोष करार भएको ६ महिनासम्म पनि उनीहरू जेलमुक्त भएका छैनन् । साउदीस्थित नेपाली दूतावासका दमाम प्रतिनिधि नारायण पासवानले फैसलाको पूर्णपाठ आउन बाँकी रहेकाले थप प्रक्रिया अगाडि बढाउन नसकिएको बताए । प्रवासी नेपाली समन्वय समितिकी शान्ति सिंहले भने उनीहरूले काम गर्ने कम्पनीले जिम्मेवारी नलिएका कारण जेलमुक्त नभएको बताइन् ।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार हाल पाँच सय ४६ नेपाली श्रमिक खाडीका ६ देश र मलेसियाका जेलमा छन् । मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, साउदी अरब, कतार, बहराइन र ओमनका जेलमा पाँच सय २६ पुरुष र २० महिला रहेको तथ्यांक छ । मलेसियामा दुई सय ६, कुवेतमा ५८, युएईमा एक सय ८५, साउदी अरबमा ५४, कतारमा ३५, बहराइनमा पाँच र ओमनमा तीन नेपाली श्रमिक जेलमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।