झापा, पाैष ६ ।
गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् ।
कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी, रचना रिमाल, एलिना चाैहान नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ ।
भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ ।
अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्– नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल, र ‘द भोइस किड्स नेपाल’ ।
यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पुर्याइरहेको छ ।
‘द भोइस किड्स नेपाल’ को भोटिङ राउण्डमा झापाकी अनुजा कडरिया प्रवेश गरेसँगै अहिले सबैको ध्यान खिचेको छ । सुरिलो स्वरकी धनी झापा बिर्तामोड– १ निवासी कडरियाले दश हजार आठ सय प्रतियोगीलाई पछि पार्दै भोटिङ राउण्डमा प्रवेश गरेसँगै उनको चर्चा एकाएक चुलिएको हो ।
द भ्वाइस किड्स नेपालको ब्याटल राउण्डबाट लाइभ राउण्डका लागि छानिएकी १९औं प्रतियोगी हुन्– अनुजा । उनले कोच प्रविशाको टिमबाट व्याटलमा प्रतिष्पर्धा गरेकी थिइन् । उनले सारा महर्जन र अमिता थापालाई पछि पारेकी थिइन् । ‘कहिले काहिँ मलाई पनि हेरिदेऊ फर्केर, सँधैभरि मदेखि नजाउन तर्केर’ बोलको गीत गाएकी थिइन् ।
कुन्ती मोक्तानको आवाजमा सजिएको यो गीत जो कहिले सहजै गाउन नसक्ने संगीत क्षेत्रका अगुवाले बताउँछन । यो गीत गाएर चार जना निर्णयकलाई आफूतिर आकर्षित गरेकै कारण उनको चर्चा झापामा मात्रै चलेको छैन देशभर नै बढेको छ । नौ वर्षे कलिलो उमेरमा कुन्ती मोक्तानको यस्तो कठिन गीतलाई दुरुस्तै गाएकै कारण गायन क्षेत्रमा अनुजाले धमाका मच्चाएको एकथरीको विश्लेषण छ ।
नौं बर्षमै धमाका मच्चाउने को हुन् अनुजा ?
आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् ।
झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् ।
अध्ययनमा समेत सँधै प्रथम स्थान हासिल गर्दै गायन क्षेत्रलाई अघि बढाएकी अनुजा झापामा हुने विभिन्न सांगीतिक र साहित्यिक कार्यक्रममा यो उमेरमै प्रमुख अतिथि बन्दै अरुलाई समेत हौसला र प्रेरणाकी पात्र बन्ने गरेकी छिन् ।
स्वर सम्राट नारायण गोपाल, तारादेवी, फत्तेमान, कुन्ती मोक्तान, जस्ता गायकले गाएका गीत गाउन रुचाउने अनुजा हिमालय टेलिभिजनबाट प्रत्येक शुक्रवार र शनिवार प्रशारित ‘द भ्वाइस किड्स नेपाल’मा आफ्नो प्रस्तुतिकै कारण चर्चाको शिखरमा छिन् ।
साहित्य चौतारी झापाद्वारा उत्कृ्ट बाल प्रतिभा २०७७ बाट सम्मानित उनी झापाका विभिन्न धार्मिक तथा सामाजिक संघ–संस्थाबाट सम्मानित तथा अभिनन्दित हुदै अाएकि थिइन । खेलकुद प्रति पनि उत्तिकै रुची राख्ने उनी खेल क्षेत्रमा समेत अब्बल छिन् ।
२०५६ साल असार ३१ गते स्थापना गरिएको साहित्य चौतारी झापाले बिभिन्न क्षेत्रमा पुरस्कार र सम्मान स्थापना गरी प्रत्येक वर्ष साहित्य चौतारी झापाको वार्षिकोत्सवमा प्रदान गर्दै आइरहेकोमा छ । त्यसमा उनले बाल प्रतिभा पुरस्कार झापा बिर्तामोड–२ चारपानेकी बाल गायिका अनुजा कडरियालाई प्रदान गरिएको थियो ।
८ वर्षकै उमेरमा आफ्नै स्वरमा ‘साना हाम्रा कृष्ण’ नामक भजनको म्युजिक भिडियोसहितको गीति एल्बम समेत निकालेर सांगीतिक क्षेत्रमा चर्चा कमाएकी कडरियाको प्रतिभाको कदर गर्दै बालगायिका कडरियालाई बाल प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
यो खबर इजलास दैनिकमा छ ।
प्रतिक्रिया