६ पौष २०७८, मंगलवार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।
आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भए अनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमति पत्रमा उल्लेख भए अनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।
फाउण्डेशनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड- १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाइ भएको छ ।’
सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन् ।
यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् । यस सम्बन्धमा युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन् । महानगरले फाउण्डेशनलाई काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेशन पछि हटेको हो ।
प्रतिक्रिया