२ पुस, काठमाडौं ।
‘हो, यसरी नै कार्यकर्ताको बिचमा निर्वाचन लड्ने चाहना थियो र, छ’ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि नेकपा माओवादी केन्द्रका नेता तिलकराज भण्डारीले आफ्नो बह सामाजिक सञ्जालमा पोखे ।
भण्डारी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षका दाबेदार थिए । निर्वाचनको माग गरेका थिए । पार्टीले आन्तरिक निर्वाचनलाई विधानतः खुला गरे पनि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्तरिक निर्वाचन हुन दिएनन्, अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहको नाम तोकिदिए ।
अखिल क्रान्तिकारीमा मात्र होइन, प्रदेश अध्यक्षहरुमा समेत प्रचण्डले आफैं नाम तोक्न थालेका छन् । उनले तोकेका नाम प्रतिस्पर्धीहरुले स्वीकार नगर्दा कतिपय प्रदेशको अधिवेशन सकिए पनि अध्यक्ष भने चयन हुन सकेको छैन ।
तल्ला कमिटीहरुमा नेतृत्वबाट धमाधम हस्तक्षेप हुन थालेपछि माओवादी केन्द्रका नेता युवराज चौलागाईंले फेसबुकमा लेखे,‘राजनीतिक दलहरुले तलबाट उठेर आएका प्रतिभाहरुलाई अवसर दिएर लिडरसिपको विकास गर्नुपर्ने हो । तर नेपाली राजनीतिमा माथिबाट तलतिर प्रभुत्व जमाउन र स्रोतहरु केन्द्रिकृत गर्न डिलरसिप उत्पादन गरिदै आएको छ ।
भुइँमान्छेमा आधारित कम्युनिस्ट पार्टी पनि लिडरसिप विकास गर्नबाट चिप्लिएर डिलरसिपमा लाग्नु दुखद छ ।’ चौलागाईंले सामाजिक सञ्जालमा यो तीतो पोख्दा माओवादीले थालेको प्रदेश अधिवेशनहरुमा सहमतिका नाममा भाँडभैलो सुरु भइसकेको थियो ।
प्रदेश सम्मेलनहरुको गत मंसिर २५ गते पार्टी अध्यक्ष प्रचण्डले एक साथ भर्चुअल विधिबाट उद्घाटन गरे । माओवादी केन्द्रका केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार पार्टीमा आन्तरिक निर्वाचनलाई खुला पनि गरिएको छ ।
तर स्वयं प्रचण्डले निर्वाचन हुन दिएका छैनन् । नेताहरुका अनुसार निर्वाचन हुन नदिएर आफ्नो हस्तक्षेपकारी भूमिकालाई निरन्तरता दिने प्रचण्डको चाहनाले प्रदेश सम्मेलनहरुमा आन्तरिक निर्वाचनको अभ्यास हुन नपाएको हो ।
‘प्रचण्ड नै आन्तरिक निर्वाचनका लागि तयार हुनुहुन्न । उहाँ काहीँ पनि चुनाव हुन नदिने सोचमा हुनुहुन्छ,’ माओवादीका एक नेता भन्छन्, ‘यसको एउटै कारण हो, उहाँ राष्ट्रिय सम्मेलनबाट आफू अनुकूल टिम बनाउन चाहनुहुन्छ ।’
प्रतिक्रिया