+
Search

ताजा अपडेट +

पपुलर +

सर्किट लागेर कति पटक बन्द भयो नेप्से? यस्तो छ सर्किट ब्रेकको इतिहास

दर्पण
२०७८ मंसिर २८, मंगलवार १४:३२ गते

मंसिर २८ गते, मंगलबार ।
नेप्से परिसूचक ६ प्रतिशत बढेर बन्द भएको छ। पछिल्लो समय निरन्तर जसो ओरालो लागेको नेप्से यस दिन उच्च दरले बढेको हो।बजार यसरी उच्च दरमा बढेपछि लगानीकर्ताहरु माझ के यो नै पहिलो पटक ६ प्रतिशत बढेर बन्द भएको हो? भन्ने जिज्ञासा जागेको छ।

कतिपय लगानीकर्ताहरुले त ६ प्रतिशत सर्किट लागेर बन्द भएको यो नै पहिलो पटक हो भन्न थालेका छन्। तर, विगतका तथ्यांक केलाउँदा यसरी ६ प्रतिशत बढेर बन्द भएको यो पहिलो पटक भने होइन।

यस अघि पनि तीन कारोबार दिन नेप्से, ६ प्रतिशत बढेर बन्द भइसकेको छ। २०७७ असार १६ गते मंगलबार, नेप्से पहिलो पटक ६ प्रतिशत बढेको थियो। सो दिन नेप्से १२६०.७५ विन्दुमा बन्द भएको थियो। त्यसको अर्को कारोबार दिन अर्थात असार १७ गते पनि नेप्से ६ प्रतिशत बढेर बन्द भएको थियो।

त्यसैगरी, तेस्रो पटक नेप्से सोही वर्षको साउन ४ गते पनि ६ प्रतिशत बढेर बन्द भएको थियो। र आज चौथो पटक नेप्से ६ प्रतिशत बढेर कारोबार अवधिभन्दा अगावै बन्द भएको हो।पछिल्लो समय नेप्से सूचक निरन्तरजसो ओरालो लागिरहेको थियो। सोमबार नेप्से ७९.५७ अंक घटेर २३०० विन्दुभन्दा तल झरेको थियो।

जुन अलटाइम हाइभन्दा २८ प्रतिशत तल झरेको हो। नेप्से लगभग बटम लाइनमा आएका कारण लगानीकर्ताहरु बजारमा पस्न थालेपछि यस दिन नेप्से उच्च दरले बढ्न पुगेको हो। नेप्सेले २०७५, चैत १९ गतेदेखि सर्किट ब्रेकरको नियम परिवर्तन गरेको थियो।

नयाँ नियम अनुसार बजार खुलेको एक घण्टा भित्र नेप्से ४ प्रतिशत बढेमा २० मिनेट, दुई घण्टाभित्र ५ प्रतिशत बढेमा ४० मिनेट र बाँकी कारोबार अवधिमा ६ प्रतिशत बढेमा सो दिनको लागि कारोबार बन्द गर्ने नियम ल्याएको थियो। त्यसपश्चात हालसम्ममा ४ पटक (आज सहित) नेप्से ६ प्रतिशत बढेर बन्द भएको छ।

सर्किट ब्रेकर भनेको के हो?

स्टक एक्सचेन्जले धितोपत्रहरुको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ। यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन्। बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि स्टक एक्सचेञ्जले यस्तो व्यवस्था गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।