२७ मंसिर २०७८, सोमवार ।
नेपाली काङ्ग्रेस महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई ५० जिल्लाका पार्टी सभापतिले मतदान गर्ने सहमति गरेको सार्वजनिक भएको छ । नाम र ठेगाना गोप्य राख्नेगरी भएको यस्तो सहमति भिडियो सन्देशसहित सार्वजनिक भएको हो ।
विश्वप्रकाशलाई मत मागिएको यो भिडियो कास्की काङ्ग्रेस सभापति किशोरदत्त बरालले सार्वजनिक गरेका हुन् । भिडियोमा शर्माको जित सुनिश्चित भएको दाबी गरिएको छ ।
‘तिमी नेताको रोजीमा परेनौ त के भयो, तिमी काङ्ग्रेसलाई प्रकाश दिने ज्योति हौ,’ भिडियोमा भनिएको छ, ‘जिम्मेवार महाधिवेशन प्रतिनिधि तिम्रो साथमा छन्, गुटमा परेनौ त के भयो ? तिम्रो जितका लागि मतदान गर्न महाधिवेशन प्रतिनिधि तयार छन् ।’
नेताहरूको काम गुट बनाउने भएको उल्लेख गरिएको भिडियोमा शर्मालाई गुटको पछि नलाग्न आग्रह गरिएको छ । ‘विचार, निष्ठा र अनुशासनले तिमीले सारा दुनियाँ तिम्रो पछि राख्न सक्छौ,’ भिडियोमा छ, ‘आफ्नो क्षमतामा विश्वास गर ।’
पार्टी प्रवक्तासमेत रहेका शर्मामाथि अन्याय भएको भन्दै सबै प्रतिनिधिलाई त्यही बुझाउनको खोजिएको भिडियोमा काङ्ग्रेसमाथि हुने क्षतिलाई सहन नसकेर आफू यो कुरा सार्वजनिक गर्न बाध्य भएको सभापति बरालले बताएका छन् ।
चुपचाप र गोप्य मतदान गर्नसक्ने अवस्था भएपनि हृदयबाट लेख्दा सुखानुभुति भएको भिडियो बताइएको छ । भिडियो सार्वजनिक गरेकामा माफी मागेका सभापति बरालले मनले नमानेर गोप्य सहमति सार्वजनिक गरेको स्पष्ट पारेका छन् ।
शर्माको योग्यता, क्षमता र वैचारिक तागतको खुलेर प्रशंसा गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । लामो समय देउवा समूहमा रहेका शर्मा सो समूहमा सिटौला भित्रिएपछि बाहिरिएका हुन् ।
शर्मालाई यो समूहबाट लखेट्ने गुह्य तयारीका साथ सिटौला त्यहाँ प्रवेश गरेका हुन् ।
शर्मा र सिटौला झापाली नेता हुन् । सिटौलाले आफ्नो अन्डरमा राख्ने शृङ्खला चलाएपछि शर्माले खुलेर राजनीतिक प्रतिवाद गर्दा आएका छन् । उनीहरूबीचको सम्बन्ध चिसो छ ।
प्रतिक्रिया