२०७८ मङ्सिर २४ शुक्रबार
नेकपा माओवादी केन्द्रको प्रदेश १ को अध्यक्षमा चारजना नेताहरूले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमा उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी, पाँचथरका इन्दबहादुर आङ्बो र झापाकी धर्मशीला चापागाईंले दाबी गरेका छन् ।
अध्यक्षका दाबेदार सुरेश राई माओवादी केन्द्रका वर्तमान प्रदेश १ संयोजक र संघीय सांसद हुन् । भण्डारी पार्टीको प्रदेश सचिव हुन् । आङ्बो प्रदेश संसदीय दलका नेता र सरकारका आर्थिक मामिलामन्त्री पनि हुन् । चापागाईं माओवादी केन्द्र प्रदेश १ की सहइन्चार्ज हुन् ।
यसैगरी, पदाधिकारीहरूमा मोरङका गणेश उप्रेती ‘सुशील’, खोटाङका ध्रुव बुढाथोकी, ओखलढुंगाका मोहनकुमार खड्का, सुनसरीका मुक्साहाङ मोयाङबो, शिवकुमार डाँगी, निर्मल बराललगायतले पनि दाबी गरेका छन् ।
नयाँ विधानअनुसार प्रथम अधिवेशन भएकोले पहिले कार्यसमितिमा परिसकेपछि मात्र पदाधिकारीमा दाबी गर्नुपर्ने भएकोले धेरैले अहिले खुलेर दाबी गरेका छैनन्। माओवादी केन्द्र प्रदेश १ को प्रथम प्रदेश सम्मेलन मोरङको सुन्दरहरैँचा नगरपालिकाको विराटचाेकमा २५ र २६ मंसिरमा हुँदै छ।
अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष प्रचण्डले सातवटै प्रदेशमा एकैचोटि भर्चुअल प्रविधिबाट गर्दै छन् । प्रदेश १ सचिव हेमराज भण्डारीका अनुसार विधानअनुसार पहिले अधिवेशनले सर्वसम्मत रूपले दुई सय ६० जना कार्यसमिति चयन गर्नेछ । त्यसपछि कार्यसमितिले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।
पदाधिकारीहरूमा अध्यक्ष एक, उपाध्यक्ष एक महिलासहित तीनजना सचिव एकजना सहसचिव एकजना र कोषाध्क्ष एकजनासहित सातजना रहनेछन् । अधिवेशनमा एक हजार एक सय प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनमा प्रतिनिधि छनाेट गर्दा पूर्ण समावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरू छनाेट गरिने इन्चार्ज राम कार्कीले बताए । जसअनुसार ३५ प्रतिशत महिला, कुल जनसंख्याको थप दुई प्रतिशत दलित ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता गराइनेछ ।
सम्मेलनको लागि प्रदेश १ का एक सय ३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा पाँच सय पार्टी सदस्य बराबर एक पालिकामा तीनजना पर्ने गरी ६ सय प्रतिनिधि चयन गरिएको छ
प्रतिक्रिया