झापा, मंसिर १७ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराउनुभएको छ । आज शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङ्देनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल गर्ने बताउनुभयो । उहाँले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङ्देनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताउनुभयो ।
अध्यक्ष थापाले शीर्ष नेताहरू सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले पार्टीमा युवा नेतृत्व आउनु शुभ सङ्केत भएको बताउँदै आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्न, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्न र आउँदाे चुनावमा पार्टीलाई सम्मानजनक सफलता हासिल गराउन नेतृत्वका लागि पुनः उम्मेदवारी मनोनयन दर्ता गराएको बताउनुभयो ।
प्रतिक्रिया