+
Search

ताजा अपडेट +

पपुलर +

झापामा बोलेरो र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, प्रहरीसहित चार जना घाइते

मुनाल न्यूज डेक्स
२०७८ मंसिर ८, बुधबार ०२:४७ गते

झापा,मंसिर ८ ।

झापामा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परेर प्रहरीसहित बोलेरोमा सवार चार जना घाइते भएका छन् ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ मा मङ्गलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो । पश्चिमतर्फ जाँदै गरेको मे ९ प ६५१९ नम्बरको मोटरसाइकललाई मे १ ज १४०५ नम्बरको बोलेरोले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कनकाई–६ का ६० वर्षीय कविराज बोहोराको मृत्यु भएको हो ।

दुर्घटनामा परेर दुवै खुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको उपचारका क्रममा साँझ ७ः४० बजेतिर बिर्तामोडको बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा बोलेरोमा सवार सङ्खुवासभाको धर्मदेवी नगरपालिका–६ का ३८ वर्षीय गणेशबहादुर राई, इलामको सन्दकपुर गाउँपालिका–१ की २८ वर्षीया सङ्गीता राई, २६ वर्षीया ममता राई र झापाको गौरादह नगरपालिका–१ की ४१ वर्षीया बिमला लिम्बू घाइते भएका छन् ।

घाइतेमध्ये गणेशबहादुर नेपाल प्रहरीका हवल्दार हुन् । उनी उदयपुरको लालपत्ता प्रहरी चौकीमा कार्यरत छन् ।
दुर्घटनापछि बोलेरो चालक इलामको देउमाई नगरपालिका–१ का २७ वर्षीय निमेश गुरुङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको बोलेरोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd