झापा, कार्तिक १८ ।
बिर्तामोड नगरपालिकाले राति ८ बजे पछि देउसीभैलो नखेल्न नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाले बुधबार सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।
रातिको समयमा देउसीभैलो, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्न नगरपालिकाले सूचनामार्फत आग्रह गरेको हो । कोरोना महामारीको प्रकोप अझै बाँकी रहेका कारण पनि भिडभाड हुने खालका कार्यक्रमहरु गर्नु उचित नरहेको उल्लेख गर्दै नगरपालिकाले सूचना जारी गरेको छ ।
नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बिहान दिउँसोको समयमा कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पूरा गरेर देउसीभैलो तथा नाचगान गर्न पनि आग्रह गरेका छन् । उनले नगरबासीहरुलाई शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन् ।
सुरक्षा संवेदनशीलताका कारण पनि रातिको समयमा देउसीभैलो लगायत मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गर्नु उचित नभएको उनको भनाइ छ ।
प्रतिक्रिया