झापा, कार्तिक ९ ।
पाँचथरबाट झापा आउँदै गरेको बस दुर्घटना हुँदा घाइते भएका चार जनाको मृत्यु भएको छ। उनीहरूको उपचारको क्रममा मृत्यु भएको पाँचथर फिदिमका पत्रकार खबिन लुईंटेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय पाँचथरले तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ।
उनीहरूको नाम तथा ठेगाना खुलिसकेको छैन। घाइतेमध्ये अझै केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ। उनीहरूको पाँचथरको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
पाँचथरको फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाको बिर्तामोडका लागि छुटेको बस दुर्घटना भएको हो। को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेको हो।
अर्को सवारी साधनलाई उछिन्ने क्रममा उक्त बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ। उक्त बसमा यात्रा गरिरहेका सबै ५४ यात्रु घाइते भएका छन्।
प्रतिक्रिया