+
Search

ताजा अपडेट +

पपुलर +

झापामा धानवाली क्षतिको अवलोकन

मुनाल न्यूज डेक्स
२०७८ कार्तिक ५, शुक्रबार १३:१५ गते

झापा, कार्तिक ५ ।
बेमौसमी वर्षाले धानवालीमा पुर्याएको क्षतिको अवलोकन शुरु गरिएको छ । कृषि ज्ञान केन्द्र झापाले जिल्लाको क्षतिको अवस्था बारे बुझ्न स्थलगत अवलोकन गरिरहेको प्रमुख निलकमल सिंहले जानकारी दिए । पूर्ण क्षति, आंशिक क्षति र सामान्य क्षतिलाई आधार मानेर अवलोकन गर्ने काम भइरहेको सिंहले जानकारी दिए ।

तीन दिनमा ज्ञान केन्द्रले ६ वटा पालिकाको अवलोकन गरिसकेको छ । बाह्रदशी, गौरादह, गौरीगञ्ज, कचनकवल, कमल र हल्दीवारीमा क्षतिको अवलोकन गरिएको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, ज्ञान केन्द्रका प्रमुख सिंह, ज्ञान केन्द्रका कर्मचारी, सम्बन्धित पालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष एवम् अन्य जनप्रतिनिधि सहित अवलोकन गरिएको छ । गौरीगञ्जको १ र २ नं. वडा र बाह्रदशी क्षेत्रमा ठुलो क्षति भएको ज्ञान केन्द्रका प्रमुख सिंहले जानकारी दिए ।

उनका अनुसार जिल्लामा १० देखी २० प्रतिशत धानवालीमा क्षति भएको छ । उनले सबै पालिकासँग तथ्याङक समेत माग गरिएको जानकारी दिएका छन् । तथ्याङक प्राप्त भएपछि जिल्लाको समग्र क्षतिको विवरण प्राप्त हुने उनको भनाई छ ।

अनुगमनका क्रममा भेटिएका अधिकांश किसानले तत्काल राहतको व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् । उनीहरुले क्षतिका आधारमा किसानलाई आर्थिक सहयोग दिनुपर्ने बताए । ज्ञान केन्द्रका प्रमुख सिंहले किसानलाई मल, विउ र सिचाँईका लागि सहयोग अनुदानको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बेमौसमी वर्षाले किसानले लगाएको धानबालीमा ठुलो क्षति पुर्याएको जानकारी दिए । उनका अनुसार किसानको विल्लीबाठ हुने गरि क्षति भएको छ । क्षति व्यहोरेका किसानको तथ्याङक संकलन गरेर प्रदेश र केन्द्र सरकारसँग राहतका लागि पहल गरिने प्रमुख पोर्तेलको भनाई छ ।

उनले किसानले कृषि बीमा नगर्दा क्षति आफै सहनुपर्ने बाध्यता आइपरेको बताए । पोर्तेल भन्छन्, अब किसानलाई बीमा गर्न सबैले पे्ररित गर्नुपर्छ । कृषि बीमा गरेमा किसानले ठुलो क्षति सहनुपर्दैन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd