महाअष्टमी पर्व आज शक्तिस्वरुपा महाकालीको पूजा गरी मनाइँदैछ । विशेषगरी आज शक्तिस्वरुपा महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको छ । आज दसैँघर, कोतलगायतका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा सप्तशती र देवी स्तोत्र पाठ गर्ने चलन छ ।
राती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजासहित मनाउने गरिन्छ । पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् ।
संघीय राजधानी काठमाडौंको बसन्तपूरस्थित हनुमानढोकाको दसैँघरमा बोका र राागाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । महाअष्टमीका दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री लगायतका देवीहरूको पूजाआजा गरिन्छ ।
काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु भद्रकाली, नक्साल भगवती, शोभा भगवती, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली लगायत मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।
यसैबीच आजै राष्ट्रपति विद्यादेवि भण्डारीले काभ्रेको पलाञ्चोक भगवतिमा विशेष पूजा अनुष्ठान गर्ने कार्यक्रम छ । महाअष्टमीकै अवसरमा आज रेडियो कान्तिपूरले काठमाडौंको दक्षिणकालीबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ ।
प्रतिक्रिया