झापा, असोज २० ।
बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पछिल्लो समय राजनीतिमा सक्रियता देखाएका छन् । स्वास्थ्य सेवामा लागेका प्रसाईले जनयुद्धकालदेखि माओवादीमा राजनीति गरेका थिए । केहि समयदेखि नेकपा एमालेमा सक्रियता देखाएका प्रसाईले बुधबार विर्तामोडमा युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।
स्वतन्त्र युवाहरुसहित प्रसाईले बिर्तामोडमा भव्य र्याली प्रदर्शन गरेका छन् । बिर्तामोडको मुक्तिचोक, मानन्धर चोक, किराँत चोक हुँदै सिटी सेन्टर प्रवेश गरेका प्रसाईलाई भव्य स्वागत गरिएको थियो ।
बृहत भेलामा प्रसाईले माओवादीमा लागेर पश्चाताप भएको सुनाए ।
उनले माओवादीलाई बुझ्दै जाँदा पार्टी काम नलाग्ने देखेर एमालेमा नजिक भएको बताएका छन् । २०४६ साल देखि ३२ बर्षसम्म नेताहरुले ढाटेको भन्दै अब युवाहरुले खवरदारी गर्नुपर्ने बताए । पटक–पटक नेताहरुले आश्वासन मात्रै दिएको भन्दै प्रसाईले लाखौं युवाको श्रम विदेशमा बेचिएकोमा दुख व्यक्त गरे ।
कार्यक्रममा राजा महेन्द्रको स्मरण गर्दै प्रशंसा गरेका थिए । उनले महेन्द्रको पालामा धेरै विकासका काम भएको सुनाए । प्रसाईले भने, अहिले केपी शर्मा ओलीले केही गरेर देखाउनु भएको छ । राजा महेन्द्र र ओली दुरगामी नेतृत्वकर्ता भएको प्रसाईको दावी थियो ।
उनले मुलुकलाई केपी ओलीको नेतृत्व चाहिएको बताउँदै युवाहरुलाई अबको बाटो संमृद्ध नेपाल , सुखी नेपाली भएको जिकिर गरे । कार्यक्रम नेकपा एमालेका नेता टिका मंग्रातीको अध्यक्षतमा सम्पन्न भएको छ । भेलामा जिल्लाभरबाट सयौ युवाहरु सहभागी भएका थिए ।
प्रतिक्रिया