झापा, असोज १५ ।
अनु अधिकारीले रसियाको मस्कोमा सुरु भएको कराते वान प्रिमियर लिगमा विजयी सुरुवात गरेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा तय गरेकी हुन् ।
करातेको विश्व वरियताको १ सय ६३ औंमा रहेकी अनुले ६१ औं स्थानमा रहेकी खेलाडीलाई हराएकी हुन् । अबको चरणमा अनुले वरियताको छैटौं स्थानमा रहेकी ब्राजिलियन खेलाडीको सामना गर्ने छिन् । प्रिमियर लिग ¥याङकिङ प्रतियोगिता समेत रहेको छ ।
प्रतियोगितामा विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीको सहभागिता रहेको छ । हरेक तौल समूहमा बिश्वका ६४ खेलाडी रहेको बताइएको छ । ११ औं सागमा रजत पदक जितेकी अनुले झन्डै दुई वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं सागमा स्वर्ण पदक जितेकी थिइन् । उनले एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरिसकेकी छिन् ।
प्रतिक्रिया