झापा, असोज ११ । झापामा नेपाली कांग्रेसको सबै पालिकाहरूको नतिजा सार्वजनिक भएको छ । शनिवारबाट शुरु भएको अधिवेशनमा कतिपय पालिकाले सहमतिबाट नेतृत्वय चयन गरेका छन् भने सहमतिबाट नेतृत्व चयन हुन नसकेका पालिकाहरुमा आइतवार निर्वाचन भएको थियो । जिल्लामा आएको नतिजा अनुसार कृष्ण सिटौला निकट उम्मेद्वारहरुको बर्चस्व रहेको हो ।
झापामा सिटौला र विश्वप्रकास शर्माको दुई प्यानल चुनावी मैदानमा उत्रिएको थियो । अधिकांश पालिकामा सिटौला प्यानलकै उम्मेद्वारी निर्वाचित भएका छन् । मेचीनगर र शिवसताक्षी बाहेक सबै पालिकामा सिटौला प्यानलको विजय भएको छ ।
मत परिणाम अनुसार कनकाई नगर सभापतिमा दुर्गा प्रसाई, मेचीनगरमा सुदय पनेरु, बिर्तामोडमा भोजराज सिटौला, कमलमा बुद्धिराज न्यौपाने, झापामा सागीरथ गणेश, दमकमा प्रकास प्रसाई, अर्जुनधारामा हेमराज खरेल, बुद्धशान्तिमा चक्र शेर्मा, भद्रपुरमा राम बहादुर कँडेल, गौरादहमा यादवराज सेडाई, शिवसताक्षीमा अशोक बस्नेत, हल्दिवारीमा गंगा प्रसाई, कचनकवलमा तुलाराम अधिकारी, बाह्रदशीमा इन्द्र बस्नेत र गौरीगञ्जमा अघनुप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
भोजराजको प्यानलै निर्वाचित
जिल्लाकै महत्वपूर्ण मानिएको बिर्तामोड नगरमा भोजराज सिटौला नेतृत्वको प्यानल नै निर्वाचित भएको छ । कुलप्रसाद संग्रौलालाई ४३ मतले पराजित गरी सिटौला दोस्रो कार्यकालको लागि नगर सभापतिमा निर्वाचित भएका हुन् । सिटौलाले १५९ मत ल्याउँदा संग्रौलाले ११६ मत पाएका छन् ।
त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३ , राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् । अर्को प्यानलका बलराम कार्कीले ११३ र पशुपति राजवंशीले १०७ मत पाएका छन् । त्यस्तै सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् ।
सचिव पदकै प्रत्यासी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले ११५ र अमोदकुमार दाहालले १११ मत ल्याएका छन् । मतदानमा २७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि शनिवार ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।
अर्जुनधारामा हेमराज
नेपाली कांग्रेस अर्जुनधाराको सभापतिमा हेमराज खरेल विजयी भएका छन् । उनी २७ मतअन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी भिष्म मिश्रलाई पराजित गर्दै खरेल दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।
अन्य पदाधिकारी र सदस्यको छिनोफानो आन्तरिक सहमतिमा भए पनि अर्जुनधारा नगर सभापति पदका लागि २ जनाले उम्मेद्वारी दिएका थिए । अर्जुनधारा ९ का भिष्म मिश्र र अर्जुनधारा ५ का हेमराज खरेलको उम्मेद्वारी परेको थियो । अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल (इशान)ले जानकारी दिए ।
यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुरभुज काफ्ले सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाईं तथा सहसचिवद्वयमा सञ्जीव पौडेल (इशान) र निरज ढकाल निर्विरोध भइसकेका थिए । यसअघि भिष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति थिए भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् । कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।
भद्रपुरको सभापतिमा कँडेल निर्वाचित
नेपाली काँग्रेस भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनले ६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरेका छन् ।
दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दुर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२ र सन्तकुमार राजवंशी (सन्तोष) ले ३४ मत प्राप्त गरे । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् ।
राजवंशीले १४४ र राईले ११० मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दीपेशकुमार साहाले ८१ र सन्तोष थापाले ७४ मत प्राप्त गरेका छन् । भद्रपुर ८ स्थित एनसीडिसी भवनमा सभापति, सचिव र सहसचिव पदका लागि आइतबार भएको निर्वाचनमा २३९ मध्ये २२९ जनाले मतदान गरेका थिए । त्यसमध्ये एउटा मत बदर भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । यता उपसभापति पदमा शनिवार नै दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुरुङ रहेका छन् ।
बाह्रदशीमा बस्नेत
नेपाली कांग्रेस बाह्रदशी गाउँपालिकाको सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी टंकप्रसाद साह लाई ४३ मत अन्तरले जितेका छन् । १६३ मतमध्ये १६१ मत खसेको थियो । बस्नेतले १०१ र टंकप्रसाद साहले ५८ मत प्राप्त गरेका थिए ।
सदस्य पदमा सर्वसम्वत भएपनि अध्यक्ष लगायत पदाधिकारीमा निर्वाचन भएको थियो । यस्तै उपाध्यक्षहरूमा सुसिला डुङ्गेल निरौला र पंचानन राजवंशी बिजयी भएका छन् । यसैगरी सचिवमा टंक बहादुर कार्की र दिनेश थापा निर्वाचित भएका छन् । उनिहरूले प्रतिस्पर्धीहरू बुधु राजवंशी र कमल चम्लागाई पराजित गरेका छन् । यसैगरी सहसचिवमा लुखिराम किस्कू र किसनलाल साह बिजय भए । उनिहरूले गौरिशंकर पोदारलाई पराजित गरेका छन् ।
दमकको सभापतिमा प्रसाई
नेपाली कांग्रेसको दमक नगर सभापतिमा युवा नेता प्रकाश प्रसाई विजयी भएका छन् । उनले १ सय ७६ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी पर्शुराम रिजालले ९९ र रोशन बिष्टले ४५ मत प्राप्त गरे ।
त्यस्तै उपसभापतिमा रिजाल प्यानलका प्रेम भट्टराई १ सय ३६ र प्रसाई प्यानलका सागर खनाल १ सय ३२ मत प्राप्त गर्दै विजयी भएका छन् । सचिवमा रिजाल प्यानलका रामचन्द्र अधिकारी ( आरसी ) १ सय ४५ मत र बिष्ट प्यानलका दिपेश दाहाल १ सय ३४ मत प्राप्त गर्दै विजयी भए । सह–सचिवमा प्रसाई प्यानलका मनीकुमार लिम्बु १ सय १७ मत र रिजाल प्यानलकी रमुना चापागाईं १ सय १५ मत प्राप्त गर्दै विजयी भएका छन् ।
मेचीनगर सभापतिमा सुदय
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए । सभापति पदमा सहमति गराउन निकै प्रयास गरिएको भए तापनि अन्ततः मतदान नै भएको थियो । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरे । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए । कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।
उपसभापतिमा योगेन थापा मगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४३ मत प्राप्त गरेका छन् । उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् । सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् ।
धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् । सहसचिवकै उम्मेद्वार लोकेन्द्र थपलियाले १७१ मत, चन्दन गौतमले १६८ मत तथा नवीन खतिवडाले १३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।
चार पालिकामा सर्वसम्मत नेतृत्व
झापाका चार पालिकामा सभापति पदमा निर्विरोध चयन भएका छन् । शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे हो । पन्ध्र पालिका रहेको जिल्लामा कचनकवलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल र रोमसम राजवंशी सचिव, सागर राजवंशी र रुद्र उप्रेती सहसचिवमा निर्विरोध चयन भएका छन् । यसैगरी हल्दिबारीमा गङ्गा प्रसाईं, झापामा सागीरथ गणेश बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा निर्विरोध कार्यसमिति निर्वाचित भएको छ ।
प्रतिक्रिया