झापा, असोज ९ | उपचारका लागि ल्याएको बालकको मृत्यु भएपछि झापाको दमकमा रहेको एडभान्स अस्पतालमा आफन्तले तोडफोड गरेका छन ।
कोरोना संक्रमण र निमोनियाले ग्रसित कमल–१ का ११ महिने शिशु कृजन खड्काको मृत्यु भएपछि शनिबार आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।
स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उपचारका लागि शिशुलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।
उनलाई बालरोग विषेशज्ञ डा. अनिल थापाले हेरेका थिए । कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। ‘बच्चाको अवस्था सामान्य थियो । यहाँ कोरोना संक्रमित राख्न सक्ने अवस्था थिएन’, उनले छलफलका क्रममा भने, ‘औषधि दिएर घर पठाएको हो । उनको अक्सिजन लेभल पनि ठिक थियो।’
तर, अस्पतालबाट घर पुर्याउनेबित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्तले बताए। अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै आफन्तले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए। स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको उनिहरुको भनाइ छ ।
अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आक्रोशितले अस्पतालमा ढुंगा प्रहार गरेको छन् । ढुंगा प्रहारबाट अस्पतालको सिसा फुटेको छ । ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् ।
हाल अस्पताल प्रशासन , आफन्त बिच ईलाका प्रहरी कार्यलयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया