+
Search

ताजा अपडेट +

पपुलर +

Breaking-नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ

दर्पण
२०७८ आश्विन ८, शुक्रबार ०८:३४ गते

काठमाडौं, ७ असोज । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेको कोठाबाट खुकुरी निकालेर सिसा फुटाउने प्रयास गरेका थिए ।

तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन ।
‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, तर एक युवकले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ,’ उनले भने, ‘श्रीपेचसहित श्रीपेच संरक्षणमा राखिएका सबै सिसा सुरक्षित रहेका छन् ।’

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने अनुमान गरिएको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए। ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी सिंहले बताए ।

पक्राउ परेका घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।